देश

बालश्रममुक्त जिल्ला घोषणामा मात्र सीमित

नेपालगञ्ज, असोज ६–यहाँका प्रायः सबैजसो उद्योग, व्यापार र व्यवसायमा कामदारका रुपमा बालश्रमिक राखिएको सहजै देख्न सकिन्छ। अवस्था यस्तो हुँदा पनि जिल्लालाई बालश्रमिकमुक्त पहिचान दिइएको छ। झण्डै ११ वर्षअघि (सन् २००७ नोभेम्बर २० मा) जिल्ला बाल कल्याण समिति र बालबालिकाका क्षेत्रमा कार्यरत विभिन्न संस्थाले बाँकेलाई ‘बालश्रमिकमुक्त जिल्ला’ घोषणा गरे।

घोषणा गर्दा नै यसमाथि प्रश्न उठाइएको थियो। त्यसबखत पनि जिल्लामा बालश्रम उन्मूलन नै भइसकेको थियो। गैरसरकारी संस्थाहरुको घोषणा गर्नैपर्ने कार्यक्रमबमोजिम जिल्ला बालकल्याण समितिलाई फकाएर त्यसो गरिएको गाइँगुइँ त्यति बेलै सुनिएको थियो।‘जिल्लाको बालश्रमको विषयमा सबै कुरा बुझेर आवश्यक पहल गरिनेछ’, प्रजिअ कुमारबहादुर खड्काले भनेका छन्।

तथ्याङ्कअनुसार नेपालगञ्जमा मात्रै अहिले झण्डै दुई हजारभन्दा बढी बालश्रमिक विभिन्न उद्योग, व्यापार र व्यवसायमा कार्यरत छन्। कूल आठ स्थानीय तह रहेको जिल्लामा हाल नौ वर्षमुनिका पाँच, १० देखि १४ वर्षका ६० र १४ देखि १७ वर्षका ४० प्रतिशतभन्दा बढी बालबालिका बालश्रमिकका रुपमा कार्यरत रहेका छन्।

श्रम कार्यालय, स्थानीय प्रशासन र सरोकारवालाहरुले कहिले पनि बालश्रम राख्ने उद्योग, व्यापार र व्यावसायिक प्रतिष्ठानमा अनुगमन र नियमन गरेको जानकारी नरहेको अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का प्रदेश ५ का प्रमुख भोला महतले बताएका छन्। बाँकेलाई बालश्रममुक्त गर्ने अभियानमा अहिले फेरि पनि स्थानीय प्रशासन, नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका, गाउँपालिकाहरु, युनिसेफ, सेभ द चिल्ड्रेन, युनेस्को क्लब, बागेश्वरी असल शासन क्लब (बास) लगायतका सरकारी तथा गैरसरकारी निकाय क्रियाशील रहे पनि विगतमा गरिएको निर्णयले फेरि पनि नतिजा सोचेजस्तो आउला भनेर ठोकुवा गर्ने अवस्था नभएको महतको भनाइ छ।

बसपार्क असोज १५ देखि सञ्चालनमा आउने
यहाँ निर्माण गरिएको बसपार्क यही असोज १५ गतेदेखि सञ्चालनमा आउने भएको छ। नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा आज बसेको सरोकारवाला निकायका पदाधिकारीको बैठकले बसपार्क सञ्चालन गर्ने निर्णय गरेको हो।बैठकमा प्रजिअ, जिल्लास्थित प्रहरी प्रमुख तथा यातायात व्यवसायीको उपस्थिति थियो।

उपमहानगरपालिकाका प्रेस सल्लाहकार गोविन्द शर्माका अनुसार बैठकले यही असोज १२ गतेदेखि सम्पूर्ण बस अनिवार्य रुपमा बसपार्क्िभत्र लैजानुपर्ने र त्यहीँबाट सञ्चालन गर्नुपर्ने निर्णय गरेको छ। उक्त निर्णय नगर बसका हकमा भने लागू नहुने जनाइएको छ। करीब तीन वर्षको अवधिमा झण्डै रु २० करोडको लागतमा अत्याधुनिक बसपार्क निर्माण गरिएको उपमहानगरपालिकाका इञ्जिनीयर सुरज गुप्ताले बताएका छन्।

यसैबीच नेपालगञ्जमा नयाँ निर्माण गरिएका दुई वटा सार्वजनिक शौचालय आजदेखि सञ्चालनमा आएका छन्। यहाँको भेरी अस्पताल र जिल्ला सहकारी सङ्घको अगाडि निर्माण गरिएका सार्वजनिक शौचालय सञ्चालनमा आएका हुन्।

उपमहानगरपालिकाका प्रमुख राणा र उपप्रमुख उमा थापा मगरले शौचालय सञ्चालनको शुभारम्भ गरे। स्वास्थ्य विकासका लागि नगर सरसफाइ योजनाअन्तर्गत करीब ८१ लाखको लागतमा ती शौचालय निर्माण गरिएको जनाइएको छ। नयाँ शौचालय अपाङ्गता मैत्री हुनाका साथै स्नानघरको समेत सुविधा रहेको छ। (रासस)

Featured