देश

भन्सार छलेर भित्र्याएका ५५ थान मोबाइल बरामद

काठमाडौं, असोज ६–प्रहरीले भारतबाट भन्सार छलेर भित्र्याएको ५५ थान मोबाइल बरामद गरेको छ। प्रहरीले महिन्द्राको गाडीमा फल्सबटम बनाई अवैध रुपमा काठमाडौं लग्न लागेको मोबाइल बरामद गरेको हो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी उत्तमराज सुवेदीका अनुसार महानगरीय प्रहरी प्रभाग बलम्वुले आइतवार राति थानकोट बलम्बुबाट राजधानीतर्फ भित्रिदै गरेको बि एल १२ सि ए १४५८ नम्बरको भारतीय गाडीमा राजस्व छलेर ल्याएको ५५ थान मोबाइ बरामद गरेको हो।

उनले भारतबाट आउने अवैध साम्रागी नियन्त्रण गर्ने रणनीति बमोजिम सुरक्षा व्यवस्था कडा पारिएको बताए। एसएसपी सुवेदीले भने, ‘दशैंतिहार र छठमा हुने चोरी पैठारी नियन्त्रण तथा पटका लगायत संवेदशील वस्तुहरु भित्रने हुँदा नागढुङ्गाको मुख्य नाकामा कडाई गरेका छौं।’ मोबाइलसँगै २ जना भारतीय नागरिक दिपक महाजान र मोहम्मद चाद पक्राउ परेका महानगरीय प्रहरी प्रभाग बलम्बुका प्रमुख शंकर खड्काले जानकारी दिए। बरामद मोबाइलहरु आइफोन, सामसुङ, एमआइ, हुवावे लगायत कम्पनीका रहेका छन् र अनुमानित १३ लाखभन्दा बढी मूल्यको मोबाइलहरु रहेको प्रहरीले जनाएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुखका अनुसार पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीको लागि राजश्व कार्यालय ललितपुर पठाइएको छ।

Featured