विदेश

अमेरिकी राष्ट्रपति ट्रम्प विवादमा तानिए

एजेन्सी, असोज ६–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीसँगको टेलिफोन कुराकानीका कारण विवादमा तानिएका छन् । अमेरिकाको शक्तिशाली गुप्तचरसम्बन्धी समितिका अध्यक्ष एडम शिफले युक्रेनी समकक्षीसँग ट्रम्पले गरेको टेलिफोन कुराकानीको विषय उनीमाथि महाभियोग लगाउने आधार बन्न सक्ने बताएका छन् ।

अमेरिकी संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टटिभको गुप्तचरीसम्बन्धी समितिका अध्यक्ष शिफले सीएनएनसँगको कुराकानीमा राष्ट्रपति ट्रम्पले विपक्षी नेतामाथि हिलो छ्याप्न कुनै विदेशी नेतालाई दबाव दिने प्रयास गरेका हुन् भने महाभियोग लगाइने बताएका छन् । उनले राष्ट्रपति ट्रम्प र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीचको संवादका विषयवस्तु सार्वजनिक गर्न दबाव दिँदै आएका छन् । तर ह्वाइट हाउसले हालसम्म त्यसको विवरण सार्वजनिक गरेको छैन ।

यसअघि ट्रम्पले सो विषयमा आफूविरुद्ध परेको उजुरी राजनीतिक उद्देश्यले प्रेरित भएको दाबी गरेका थिए। गत जुलाईमा राष्ट्रपति ट्रम्पले फोनमा युक्रेनी राष्ट्रपतिलाई डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिको उम्मेदवारको प्रतिस्पर्धाको अग्रपंत्तिमा रहेका जोए बिडेनका छोरा हन्टर बिडेनमाथि पुनः छानबिन गर्न दबाव दिएको समाचारहरूमा जनाइएको थियो।

उनले बराक ओबामाको सरकारमा आफ्ना बुवा उपराष्ट्रपति रहँदा एउटा ऊर्जा कम्पनीको कामको सिलसिलामा युक्रेनमा केही समय बिताएका थिए । बुवा बिडेनले छोराको कम्पनीविरुद्ध अनुसन्धान गरिरहेका त्यहाँका एक अभियोजनकर्तालाई पदमुक्त नगरे युक्रेनलाई अमेरिकाले दिने सहायता रोक्ने चेतावनी दिएका थिए ।

अभियोजनकर्ता भ्रष्टाचारमा संलग्न भएको आशंका गरिएको थियो। तर अनुसन्धानले कुनै अनुचित काम भएको प्रमाण फेला पार्न सकेन। राष्ट्रपति ट्रम्पले युक्रेनी समकक्षीसँग गरिएको कुराकानीमा जो बिडेनको नाम लिएको स्वीकार गरेका छन्। ट्रम्पले अधिकारको दुरुपयोग गरेको आरोप लगाउँदै बिडेनले छानविन गर्न माग गरेका छन् ।

Featured