देश

जितिया पर्वको उपवास बसेकी वृद्धाको मृत्यु

काठमाडौं, असोज ६–महोत्तरी जिल्लाको एकडारा गाउँपालिकामा जितिया पर्वको उपवास बसेको अवस्थामा आइतबार एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकडारा गाउँपालिका–६ बगेया गाउँ बस्ने जगदिश पाण्डेकी पत्नी ७१ वर्षीया मिथिलेश देवी पाण्डे रहेको वडाध्यक्ष सुमन्तकुमार रायले जानकारी दिए । यस वर्षको जितिया पर्व निकै लामो समय अवधिको भएको कारण ती वृद्धा खाली पेट त्यतिसमयसम्म बस्न नसक्दा र यस पर्वको समापन अघि कुनै खानेकुरा वा पानी पनि खाएमा पर्व भंग हुने मान्यता रहेको कारण पर्व सकिनु अघि खान नमानेपछि उनको मृत्यु भएको वडाध्यक्ष रायले बताए ।

उनी शनिबार बिहान ४ बजेदेखि आइतबारसम्म जितिया पर्वको उपवास बसेकी थिइन् । पानी पनि खान नमानेपछि उनको उपवास बसेकै अवस्थामा मृत्यु भएको हो । यस वर्षको जितिया पर्वमा शनिबार बिहान ४ बजेदेखि उपवास बसेर आइतबार बेलुका ३ बजे (पारन) अन्न जल खाने कार्यक्रम रहेको थियो । तराईमा जितिया पर्वलाई निक्कै कठोर पर्वको रुपमा लिने गरिएको छ तर जितिया पर्व बसेकै बेला महिलाको मृत्यु भएको महोत्तरीमा यो पहिलो घटना रहेको सर्वसाधारण बताउँछन् ।(रासस)

Featured