देश

भौतिक मन्त्रालयको कामप्रति प्रधानमन्त्री असन्तुष्ट

काठमाडौं, असोज ६–प्रधानमन्त्री केपी शर्मा ओलीले ठेकेदारहरूलाई राजनीतिक संरक्षण दिइँदा विकासमा व्यवधान बेहोर्नुपरिरहेको बताएका छन् । राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकलाई आइतबार सिंहदरबारमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकास आयोजना निर्माणको ठेक्का दिँदा निर्माण कम्पनीको क्षमता र विगत अवलोकन नगरी राजनीतिक पहुँचका आधारमा दिने कार्य अब दोहोरिन नदिन निर्देशनसमेत दिए ।

समयमै काम नगर्ने, आयोजना अलपत्र पार्ने निर्माण व्यवसायीले पुनः ठेक्का पाउने अवस्थाको अन्त्य गर्न र दोषी ठेकेदारलाई सधैँका लागि निषेध गर्न जरुरी रहेको पनि उनले बताए । “कुखुराले चल्ला ओतेजस्तै ठेकेदारलाई राजनीतिले जोगाउने ?” प्रधानमन्त्रीले प्रश्न गरे, “गलत काम गरेर राजनीतिको पखेटामुनि ठेकेदारलाई लुकाएपछि कारबाही गर्नै समस्या ।” यस्तो अवस्था तत्काल अन्त्य गरेर दोषीलाई दण्डित गर्नैपर्ने उनको भनाइ छ ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले रुग्ण आयोजनाहरूका ठेक्का समय अन्तिम पटकका लागि एक वर्ष थपेर निर्माण सम्पन्न गर्न उपयुक्त हुने सुुझाव बैठकमा राखे। उनले ठेक्का सम्झौता रद्द गर्दा राज्यलाई खर्बौं रुपियाँको दायित्व थप हुने भन्दै समय थप्न उपयुक्त हुने जिकिर गरे। प्रधानमन्त्री ओलीले अवस्था हेरेर समय थप गर्न सकिने तर रकम भने ठेक्का सम्झौताअनुरूप नै सम्पन्न गर्नुपर्ने बताएका थिए । समितिको विगतका बैठकको समीक्षा गर्दै प्रधानमन्त्री ओलीले अघिल्ला तीन बैठकका निर्णय कार्यान्वयनको अवस्थाप्रति चरम् असन्तुष्टि जनाए । यो समाचार गोरखापत्र दैनिकले छापेको छ ।

Featured