विदेश

साउदीमा हमला गरेको हुथी विद्रोहीद्वारा वार्ताको प्रस्ताव

एजेन्सी, असोज ५–यमनको हुथी विद्रोही समूहले साउदी अरबमा हमला अन्त्य गर्ने र शान्ति वार्तामा आउन चाहेको संकेत गरेको छ । इरानको समर्थन प्राप्त हुथी विद्रोहीले शान्तिको प्रयास स्वरूप साउदीमा हमला अन्त्य गर्ने भनेर राखेको प्रस्तावको संयुक्त राष्ट्रसंघले स्वागत गरेको छ । राष्ट्रसंघले प्रस्तावले ‘युद्ध अन्त्य गर्ने चाहाना राखेको भन्ने एउटा शक्तिशाली सन्देश’ दिनसक्ने जनाएको छ।

साउदी अरबका तेल खानी र प्रशोधन केन्द्रमा ड्रोन र अन्य क्षेप्यास्त्र प्रयोग गरेको जिम्मा लिएको हुथी समूहले आक्रमणको एक साता पछि यस्तो प्रस्ताव राखेको हो। अमेरिका र साउदी अरबले सो घटनामा इरानको हात भएको आरोप लगाउँदै आएका छन्। तर इरानले भने सो घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै आएको छ । यमनमा भएको गृहयुद्धका कारण १० हजारभन्दा बढीको मृत्यु भएको छ भने दशौँ लाख मानिसलाई भोकमरीको चपेटामा परेका छन् ।

हुथी विद्रोहीले राष्ट्रपति अब्द्रबुह मन्सूर हादीलाई राजधानी सानाबाट भाग्न बाध्य पारेपछि साउदी अरबले सन् २०१५ मा हुथीविरुद्ध हवाई आक्रमण गर्दै आएको छ । टेलिभिजनमार्फत् घोषणा गर्दै हुथी सर्वोच्च राजनीतिक परिषद्का अध्यक्ष महदी अल–मसतले साउदी अरबमाथि सबै खालका आक्रमणको अन्य गर्ने र त्यसका लागि साउदी अरब र उसका सहयोगीहरूले पनि आक्रमण रोक्नुपर्ने बताएका छन्।

उनले सबै पक्षलाई विस्तृत मेलमिलापूतर्फ काम गर्न पनि आग्रह गरेका छन्। यमनका लागि संयुक्त राष्ट्रसंघका विशेष दूत मार्टिन ग्रिफिथ्सले प्रस्तावको स्वागत गर्दै समस्याको राजनीतिक समाधान खोज्न आग्रह गरेका छन्।

Featured