देश

जुम्ली स्याउ जाजरकोटमा, भारतीय स्याउ विस्थापित

जाजरकोट, असोज ५–जुम्ली स्याउले बजार पाएपछि जाजरकोटमा भारतीय स्याउ विस्थापित भएको छ । जिल्लाका सबै ठाउँमा जुम्ली स्याउले बजार पाएपछि भारतीय स्याउ बिक्री हुन छाडेको हो । एक सय रुपैयाँमा प्रतिकिलोले नेपाली स्याउ पाइने भएपछि महँगो मूल्यमा भारतीय स्याउ कसैले खरिद नगरेको व्यापारी बताउँछन् । स्थानीय उत्पादन तथा सस्तोमा उपभोग गर्न पाएपछि अत्यधिक माग बढेको व्यापारी लोकेन्द्र रोकायले बताए ।

भारतीय स्याउ खाँदा मीठो नभएको तर जुम्ली स्याउ मीठो भएको भेरी नगरपालिका–३ का शारदा ओलीले बताए । जाजरकोट सदरमुकाममा तीन ठाउँमा डिलर राखेर जुम्ली स्याउ बिक्री भइरहेको छ । जुम्ली स्याउसँगै जाजरकोटमा फलेको स्याउ बिक्री वितरणमा समेत सहज भएको व्यापारीले बताएका छन् ।

भारतबाट कमाइ गरेर घर फर्कनेहरु समेत घरमा जुम्ली स्याउ नै कोशेलीका रुपमा लिने गरेका छन् । प्रांगारिक भन्दै जुम्ली स्याउको माग बढेको छ । उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष कर्णबहादुर खत्रीले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताए । कर्णाली प्रदेश सरकारले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्ने लक्ष्य लिएसँगै जुम्ली स्याउको माग ह्वात्तै बढेको छ ।

यातायातको अभावमा अघिल्लो वर्ष जाजरकोटमा ल्याउन नसकिएको बताउने यहाँका व्यापारी यो वर्ष केही सहज भएपछि जुम्ली स्याउ ल्याउन पाएको बताएका छन् । जाजरकोटमा यातायातको पहुँच भएको सबै ठाउँमा जुम्ली स्याउ पुगेको उनीहरुको भनाइ छ ।

रुकुम पश्चिम र सुर्खेतमा पनि जुम्ली स्याउमा पुगेको व्यापारी रणबहादुर महतले बताए । भारतीय स्याउमा विषादी मिसाएको पाइएसँगै जुम्ली स्याउले बजार पाउन थप सहज भएको छ । अहिले जाजरकोटमा दैनिक सरकारी कार्यालय, संघसंस्था र कार्यक्रममा समेत जुम्ली स्याउकै प्रयोग बढेको छ । (रासस)

Featured