देश

बासस्थान अभावले मानवबस्तीतर्फ वन्यजन्तु

काठमाडौं, असोज ५–वन्यजन्तुले मानिस तथा घरपालुवा जनावरमाथि आक्रमण गरी ज्यान लिने क्रम पछिल्ला वर्षमा बढ्दै गएको छ । वन्यजन्तुको बासस्थान र आहारा कमी हुँदा उनीहरूले मानवबस्तीमा प्रवेश गरी आक्रमण गर्ने गरेको पाइएको हो । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका अनुसार पहाडी जिल्लामा चितुवाले मानिस तथा घरपालुवा जनावरमाथि आक्रमण गर्ने क्रम पछिल्ला वर्षमा बढेको छ । वन्यजन्तुबाट भएका आक्रमण र क्षतिको विवरण संकलन गर्ने काम गर्दै आएको तत्कालीन क्षेत्रीय वन निर्देशनालय २०७५ भदौमा खारेज भएपछि यससम्बन्धी पछिल्लो एकीकृत तथ्यांक अहिले उपलब्ध छैन ।

तर, समस्या देखिएका जिल्लामा सोधखोज गर्दा उपलब्ध विवरणअनुसार अर्घाखाँची, तनहुँ र बैतडीमा मात्रै २०७१ सालयता चितुवाको आक्रमणबाट ४१ जनाको ज्यान गइसकेको छ । बैतडीमा २३ जनाको मृत्यु भएको छ भने अर्घाखाँचीमा १४ र तनहुँमा ४ जनाको ज्यान गएको छ । कास्की डिभिजन वन कार्यालयका अनुसार जिल्लामा चितुवाले घरपालुवा जनावरलाई आक्रमण गरेका घटना प्रत्येक साता औसतमा चार वटा हुन्छन् । स्याङ्जा र लमजुङमा पनि अवस्था यस्तै छ ।

२५ जेठ २०७६ मा चितुवाको आक्रमणबाट तनहुँको भानु नगरपालिका–२ भकुण्डोथोककी नौ वर्षीया पुष्पा अधिकारीको मृत्यु भयो । १५ मंसिर २०७५ मा भानु नगरपालिकाकै ढल्केवरका १० वर्षीय अमृत गुरुङ र २९ कात्तिकमा जोखानेकी चार वर्षीया रञ्जिता लम्सालको पनि चितुवाले ज्यान लिएको थियो । यो समाचार आजको राजधानी दैनिकले छापेको छ ।

Featured