देश

सार्वजनिक शौचालय र ढल निर्माणमा अनियमिता भएको उपमेरकै आरोप

विराटनगर, असोज ४–मोरंगको रतुवामाई ४ झुर्कियामा निर्माणाधिन सार्वजनिक शौचालय र ढल निर्माणमा अनियमिता भएको आरोप लागेको छ । निर्माण सामाग्री कमसल प्रयोग गरिएको तथा मनोमानी ढंगले ठेक्का सम्झौता गरी मेयर रविन राईले निकासा दिएको उपमेयर दयन्ताृदेवी चुँडालले बताएकी छन् ।

शनिबार झुर्कीया बजारमै पत्रकार सम्मेलन गर्दै नगरप्रमुख रविन राईले अनुगमन समितिको प्रतिवेदन विनै ७५ प्रतिशत निकासा दिएको उपमेयर चुँडालले आरोप लगाइन् । उनले अनुगमन समितिको प्रतिवेदन बिना प्रमुख प्रशासकीय अधिकृत समेत नभएको समयमा निमित्तको भरमा मेयर राईले रकम निकासा दिएको दावी गरिन् ।

निर्माणमा अनियमिता भएको भन्ने जनगुनासो आएपछि गत भदौ २९ गते नगर प्रमुख राईले पत्रकार सम्मेलन गर्दा मात्रै आफुले ७५ प्रतिशत निकासा भईसकेको थाहा पाएको चुँडालले दावी गरिन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट तराई–मधेश सम्मृद्धि कार्यक्रम अन्र्तगत कृषि संकलन केन्द्र निर्माणका लागि प्राप्त रकमलाई योजना परिवर्तन गरि नगरप्रमुख राईले मनोमानी रुपमा काम गरेको उपप्रमुख चुँडालको आरोप छ ।

नगरप्रमुख राईले विना प्रतिष्पर्धा आफ्नै भाई रोमन राईलाई शौचालय र ढल निर्माणको ठेक्का दिइएको उनले दावी गरिन् । मन्त्रालयले उपलब्ध गराएको १ करोड १० लाख रकम मध्ये ९४ लाख ५१ हजार ५ सय ५७ रुपैयाँको ठेक्का सम्झौता गरिएको थियो । बाँकी रकम क्रमागत योजनामा राखिएको थियो । सम्झौता अनुसार गत आर्थिक वर्षको अन्त्यतिरबाट निर्माण कार्य शुरु गरिएको थियो ।

निर्माण कार्यपुरा नहुँदै बनाइएको संरचना भत्कदै जान थालेको छ । शौचालय र ढल निर्माण कार्यमा आफ्नो पनि चित्त नबुझेको वडा नं. ४ का वडाध्यक्ष देवराज राजवंशीले बताए । निर्माण सामाग्री कमसल प्रयोग गरि काम गरिएको स्थानीयले बताएका छन् । निर्माण कार्यमा भ्रष्टाचार भएको स्थानीयले बताएका छन् । यता ठेकेदार रोमन राईले निर्माण कार्यमा केही कमजोरी भएको स्वीकार गरेका छन् ।

उनले निर्माण कार्यका लागि १५ जनाले टेण्डर हालेको पनि दावी गरे । यसअघि पत्रकार सम्मेलन गर्दे मेयर राईले १८ लाख रुपैयामा निर्माणाधीन शौचालयलाई १ करोड रुपैयामा निर्माण गरेको भनी बाहिर आएको विषयमा सत्यता नभएको दावी गरेका थिए । उनले निर्माणाधीन ७ कोठे अपाङमैत्री शौचालय १८ लाख ३० हजार ५ सय ४४ रुपैयाको लागतमा ठेक्का भई निर्माण भईरहेको केहीदिन अघि आयोजित पत्रकार सम्मेलनमा बताएका थिए ।

Featured