देश

पोखराका आगलागीपीडित व्यवसायीले क्षतिपूर्ति पाए

पोखरा, असोज ४–आइएमई जनरल इन्स्योरेन्स (आइजीआई) पोखराले आगलागीपीडित व्यवसायीलाई बीमाबापतको साढे ३१ लाख रुपैयाँ भुक्तानी गरेको छ । पोखराको न्युरोडस्थित मिनी मार्केट कम्प्लेक्समा २८ साउनमा विद्युत सर्ट भइ आगलागी भएको शुभ युनिक होम डेकोरेसनलाई कम्पनीले ३१ लाख ५० हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

शनिवार पोखरा उद्योग वाणिज्य संघको साधारणसभाको अवसरमा आइएमई जनरल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) युगेश भक्त बादे श्रेष्ठले शुभ युनिक होम डेकोरेसनका सञ्चालक लिलाधर ढुंगानालाई उक्त रकमको चेक हस्तान्तरण गरेका हुन् ।

शुभ युनिक होमले बीमाबापत इन्स्योरेन्स कम्पनीलाई वार्षिक ५ हजार ७ सय ७५ रुपैयाँ प्रिमियम भुक्तानी गर्दै आएको थियो । कम्पनीले व्यवसायीलाई समयमै क्षतिपूर्तिबापतको रकम उपलब्ध गराउन सफल भएको आइएमई जनरल इन्स्योरेन्सका सीईओ श्रेष्ठले बताए ।

उनले थोरै प्रिमियम बुझाएर बीमा गराउँदा करोडौं हानीको जोखिमबाट बच्न सकिने भन्दै सबै व्यवसायीलाई बीमा गर्न आह्वान गरे । उक्त मार्केटमा ३० वटा पसल र २ वटा कार्यालयमा आगलागी भएको थियो । बीमा नगरेका कारण क्षति भएका अन्य व्यवसायीले क्षतिपूर्ति पाएनन् ।

Featured