देश राजनीति

युवा पुस्तालाई राजनीतिमा चासो दिन राष्ट्रियसभा अध्यक्षको आग्रह

काठमाडौं, असोज ४–राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले राजनीतिमा चासो दिन युवा पुस्तालाई आग्रह गरेका छन् । ‘नेपाल युथ एसडीजी समिट’को शनिवार उद्घाटन गर्दै अध्यक्ष तिमल्सिनाले युवाले राजनीतिमा चासो नदिएसम्म देश नबन्ने बताए । ’युवालाई राजनीतिमा चासो नभए देश बन्दैन । युवाले राजनीतिप्रति बढी सरोकार राख्नुपर्छ,’ उनले भने, ’युवाले राजनीतिमा सरोकार छैन भन्न हुँदैन । कुन दलमा लाग्ने हो आफैं रोज्नुस् तर, राजनीतिप्रति चासोचाहिँ राख्नुस् ।’

उनले कुनै विषयप्रति प्रतिक्रियाले मात्र नहुने भन्दै अबका युवाले गहिराइमा गएर बुझ्नुपर्ने पनि बताए । युथ एड्भोकेसी नेपाल र नेपाल एसडीजी फोरमको संयोजन, राष्टिय योजना आयोग, युनेस्को, भीएसओ नेपाल,एक्सन एड नेपालको सहकार्य र २५ भन्दा बढी गैरसरकारी संस्थाको आयोजनामा शुरु कार्यक्रम एक सातासम्म चल्ने युथ एड्भोकेसी नेपालका अध्यक्ष नरेन खतिवडाले जानकारी दिए ।

दिगो विकासका लक्ष्यहरु नेपालको राष्ट्रिय लक्ष्य भएको भन्दै उनले सबैको साथ र सहयोग नभइ लक्ष्य प्राप्त हुन नसक्ने पनि बताए । दिगो विकासका लक्ष्य प्राप्त गर्न तीन तहका सरकारले अझ एकीकृत रूपमा काम अघि बढाउने उनको भनाइ छ । लामो राजनीतिक आन्दोलनपछि नयाँ संविधान जारी गरेर अधिकार प्राप्तिको अभियान पूरा भएको र अब कर्तव्य पूरा गरेर समृद्धि हासिल गर्ने ठाउँमा देश आइपुगको उनले बताए ।

Featured