देश

जलकुम्भीले फेवातालको स्वरुप बिर्गार्दै

पोखरा, असोज ४–बाढीपहिरो र जलकुम्भीका कारण पर्यटकीय शहर पोखराको मुख्य आकर्षण फेवाताल कुरुप बनेको छ । फेवातालमा भरिएका जलकुम्भी झारका कारण पोखरा घुम्न आएका पर्यटकहरु सहज रुपमा डुंगामा सयर गर्न पाएका छैनन् ।

जलकुम्भीसँगै बाढी पहिरोले बगाइ ल्याएका मुढा, लेदोले फेवाताल कुरुप बनेपछि डुङगा चलाएर जीविकापार्जन गर्दै आएका व्यवसायीको रोजीरोटी समेत धरापमा परेको छ ।फेवातालको सिरानमा पर्ने हर्पन खोला र खहरे खोलाको बाढी सिधै फेवातालमा मिसिन्छन् । ती खोलाले फोहोर पनि बगाएर ल्याउँछन् जसले फेवा ताललाई कुरुप बनाएको छ ।

डुंगा चलाउनै जोखिम हुने गरी फेवाताल फोहोर बनेपछि डुङगा व्यवसायी विनोद जलारीले बताए । ‘तालको चारैतिर फैलिएको जलकुम्भीले तालको सुन्दरता नै हरेको छ,’ उनले भने, ‘त्यतिमात्रै होइन पर्यटकलाई राखेर डुङगा चलाउन डरमर्दो भएको छ ।’

डुंगा नै चलाउन नमिल्ने गरी जलकुम्भी फैलिएपछि तालबाट दैनिक बजार आउने र घर फर्किने स्थानीयवासी पनि समस्या परेका छन् ।तालपारीका गाउँलेहरु घरेलु उत्पादन डुंगामार्फत पोखरा बजारसम्म बिक्रीका लागि ल्याउने र दैनिक आवश्यकीय चिज खरिद गरी फर्कने गर्दछन् । तर, जलकुम्भीले ताल भरिएर डुंगा नै चल्न छाडेपछि उनीहरुको आवतजावत नै रोकिएको छ ।

तालमा बाक्लै फैलिएको जलकुम्भी झार कारण दैनिक रुपमा डुंगामार्फत दूध बजारसम्म ल्याउन सकस परेको पुम्दी सिम्लेपात्लेका किसान गुरुदत्त बरालले बताए । ‘विगतका दिनमा ३०र३५ मिनेटमा डुंगामा तालपारीको सिम्लेपात्लेबाट पोखराको बैदाम, लेकसाइड पुगिन्थ्यो,’ उनले भने, ‘तालमा फैलिएको बाक्लो जलकुम्भी झारले गर्दा डेढ घण्टा लाग्ने गरेको छ ।’हल्लनचोक, बाराहीघाट, डिहीकोपाटन, बसुन्धरापार्क, ड्यामसाइडमा जोडिएको ताल जलकुम्भी झारले छपक्कै ढाकेको छ । स्थानीय डुंगा व्यवसायी सरोज परियार यति धेरै जलकुम्भी पहिलोपल्ट देखेको बताउँछन् । ‘७र८ वर्षदेखि फेवातालमा जलकुम्भीको प्रकोप देखिएको होे,’ उनी भन्छन, ‘यति धेरै जलकुम्भी बगाएर ल्याएको पहिलोपल्ट हो । अरु बेला अलि कम आउँथ्यो ।’

स्थानीय संघ संस्था, डुंगा व्यवसायी समिति, सुरक्षाकर्मी, स्थानीय आमा समूहलगायतले बर्से्नि जलकुम्भी झार तालबाट निकाल्दै आएका छन् । गत वर्षदेखि भने पोखरा महानगरपालिकाले मेसिनबाट जलकुम्भी झार फाल्ने गरेको छ ।पर्यटकीय मौसम सुरु भएको बेलामा फेवाताल जलकुम्भीले ढाकिएपछि पर्यटन व्यवसायी चिन्तित छन् । मेसिनकै भरमा नियमित जलकुम्भी हटाउने हो भने करिब डेढ महिनाभन्दा बढी समय लाग्ने अपरेटर सरोज पुनले बताए । ‘मेसिनले दैनिक १५–१६ ट्रिप जलकुम्भी झार मात्र निकाल्छ,’ उनले भने, ‘एक टिपमा २ टन झार हुन्छ ।’ उनका अनुसार मेसिनले एक घण्टामा करिब ५ लिटर डिजेल खपत गर्छ ।

मेसिनले मात्रै जलकुम्भी फाल्न झण्डै दुई महिना लाग्ने पोखरा महानगरपालिका फेवाताल संरक्षण आयोजनाका सुपरभाइजर ध्रुवबहादुर गोदारले बताए । ‘मेसिनले मात्र फाल्न सम्भव छैन,’ उनले भने, ‘तालको अस्तित्व बचाउन पोखरामा रहेका सबै संघसंस्था हातेमालो गरेर अगाडि बढ्नुपर्छ । त्यसो गरेमात्र एक महिनामा झार हटाउन सकिएला ।’फेवाताल नजिकको किनारा र मुहान तर्फका क्षेत्रमा अव्यवस्थित रुपमा खनिएको मोटरबाटोका कारण वर्षै्पिच्छे बाढीपहिरो आउने क्रम बढेको लेकसाइडका होटल व्यवसायी सन्दीप बराल बताउँछन् ।

Featured