देश

मानसिक रोगिहरुको प्रदेश १ सरकारद्धारा उद्धारकार्य सुरु

विराटनगर, असोज ४–प्रदेश १ सरकारले प्रदेश भरिका मानसिक सन्तुलन गुमाएका मानिसहरुको उद्धार कार्य थालेको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश नं. १ लाई सडक मानव रहित प्रदेश वनाउने योजनाका साथ मानसिक सन्तुलन गुमाएकाहरुको उद्धार कार्य थालेको बताए ।

उनले मानसिक रोगीहरु मध्येबाट महिलाहरुको हकमा हिंसा साथै यौन हिंसाका घटनाहरु बढी हुने भएकाले पहिलो चरणमा मानसिक संतुलन गुमाएका महिलाहरुको उद्धार गरिने र त्यसपछि मानसिक संतुलन गुमाएका पुरुषहरुको पनि उद्धार गरिने जानकारी दिए । प्रदेश सरकारले सडक वालवालिकाहरु र सडकमा मागेर वस्ने मानिसहरुको पनि उद्धार गर्ने योजना बनाएको मन्त्री घिमीरेले बताए ।

उनले कुनै पनि बहानामा सडकमा मानिसलाई बस्न नदिने अभियान प्रदेश सरकारले बनाएको बताए । उनले भने,‘यो प्रदेशलाई समृद्ध प्रदेश बनाउन सडकमा भौँतारिरहनुभएको सवैको प्रदेश सरकारले उद्धार गर्छ । पहिलो चरणमा महिलाहरुको उद्धार गरिएको छ । अब क्रमश सवैको उद्धार प्रदेश सरकारले गर्ने छ ।’

उद्धार गरिएकाहरुलाई विराटनगरमा स्थापना गरिएको मानव सेवा आश्रममा राखिने छ । प्रदेश सरकारले थालेको अभियानमा परिवार आफन्त नातागोता नभएकाहरुलाई उद्धार गर्ने र उनीहरुको अवस्था हेरेर उपचार गर्ने योजना रहेको छ । विराटनगरमा विस्तार गरिएको मानव सेवा आश्रममा भोजपुरबाट उद्धार गरिएकी महिला र उनको बच्चासहित ३ जनालाई राखिएको छ ।

Featured