देश

ह्वीलचेयरको सहारामा परिवारलाई आड(भरोसा

विराटनगर, असोज ४–विगत १४ वर्षदेखि ह्वीलचेयरको सहारामा चल्ने बेलबारी नगरपालिका(१ का ५४ वर्षीय पदम श्रेष्ठ परिवारका लागि सहारा र समाजका लागि उदाहरणीय छन् । लामो समय मोरङको लेटाङस्थित फडानीमा बसोबास गरेर पछिल्लो समय बेलबारी(३, मा बस्दै आएका श्रेष्ठ आफूले ह्वीलचेयरको सहारा लिनु परे पनि परिवारलाई भने सहारा प्रदान गर्दै आएका छन् ।

उनले बनाएका रोटीमेकर, विभिन्न साइजका ऐना, हातेपंखा, लगायत घरायसी सामग्रीहरुले उनको सिकुवा पदर्शनी स्थलजस्तै बन्ने गरेको छ । उनले पछिल्लो समय आफूले तयार पारेका सामग्रीको फोटो फेसबुकमा हाल्ने गरेका रहेछन् । कतिपय ग्राहकले फेसबुकमा देखेर सामान खरीद गर्ने गरेको उनले बताए । श्रेष्ठले भने, ‘फेसबुकबाटै हेरेर मैले बनाएका सामान किनिदिने गर्नुभएको छ । हामी जस्ताको परिवारको जिविकोपार्जनका लागि बिक्री गर्ने व्यवस्था गरिदिए हुन्थ्यो ।’

पदमले कहीकतैबाट यस्ता सामग्री बनाउने तालिम भने लिएका छैनन् । आफैले यूट्युवबाट हेरेर नयाँ(नयाँ सामग्री बनाउन सिकेको उनको भनाइ छ । उनी भन्छन्, ‘प्रविधिको प्रयोगले साँच्चै सहज बनाएको छ । म दिनहुँ नयाँ नयाँ कुराहरु सिकिरहन्छु र सामान बनाउछु । मैले अहिलेसम्म कुनै तालिम लिएको छैन । यूट्युवबाटै सिकेको हुँ ।’

२०६२ सालमा (अहिले बस्दै आएको) घर बनाउने क्रममै श्रेष्ठ दुर्घटनामा परेका थिए । दुर्घटनामा परेको तीनवर्षसम्म त उनलाई सुतेको स्थानबाट फर्किनसम्म पनि साथीको सहारा लिनुपर्ने हुन्थ्यो । उनका दुई सन्तानमध्ये छोरीको विवाह भइसकेको छ । कमजोर आर्थिक अवस्था र आफूलाई उपचार गर्दा गर्दै छोराछोरीले पढ्न नसकेको उनको गुनासो छ । श्रीमती सम्झना, श्रीमानले तयार पारेका सामाग्री बिक्रि गर्नसके आफूहरुको जिविकोपार्जन सहज हुने बताउछिन् । उनले भनिन्, ‘आपांग मान्छेमा पनि थुप्रै प्रतिभा हुन्छ, तर त्यसको कदर हुन सकेको छैन । श्रीमानले बनाएका सामान बिक्रि भइदिए मात्र पनि हाम्रो दैनिकीमा सुधार आउँथ्यो । कसैले यसको व्यवस्था मिलाइदिए हामी आभारि हुने थियौँ ।’

अपांगता भएर पनि यति धेरै सीप हुनु चानचुने कुरा नभएको स्थानीय गोपाल नेपाल बताउछन् । यस्ता व्यक्ति र उनीहरुसँग भएको सीपलाई प्रवद्र्धन गर्ने काममा स्थानीय सरकारको ध्यान जानुपर्ने उनको मत छ । अपांगता भएका व्यक्तिको हक अधिकारका सवालमा काम गर्दै आएको ‘अपांगता भएका व्यक्तिहरुको संस्था’ बेलबारीले श्रेष्ठको सीपको उचित मूल्यांकन होस् भन्नेमा आफूहरुले पहल गर्दै आएको जनाएको छ ।

Featured