देश

समृद्धिका लागि सबै दल एकजुट हुनुपर्छ : राष्ट्रपति

काठमाडौं, असोज ३–राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको आर्थिक समृद्धिका लागि सबै राजनीतिक दललाई एकजुट हुन आग्रह गरेकी छन् । संविधान दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले भनिन्, ‘संविधानको सफल कार्यान्वयन हुँदै गइरहेको छ, संविधान निर्माणमा एकताबद्ध भएका राजनीतिक दल मिलेर अघि बढ्नेमा म विश्वस्त छु ।’

कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले संविधानमा असन्तुष्टि भए जनतालाई विश्वासमा लिएर संशोधन गर्दै अघि बढ्न सकिने बताए । कार्यक्रममा राष्ट्रपति भण्डारीले पूर्वप्रधानमन्त्री स्व. सुशील कोइरालालाई ‘मरणोपरान्त जनआन्दोलन स्वर्ण पदक’बाट सम्मान गरेकी छन् ।

Featured