देश

गलत सूचनाले जानकी मन्दिरमा दुई घण्टा प्रहरीको सर्च

जनकपुर, असोज ३–जानकी मन्दिरमा बम राखिएको भनी प्रहरीले पाएको गलत सूचनाका कारण प्रहरीले दुई घण्टा हैरानी खेपेको छ । शुक्रबार करिब १२ बजे प्रहरीले जानकी मन्दिरमा बम राखिएको सूचना पाएलगत्तै मन्दिरमा निगरानी बढाएको थियो ।

तालिमप्राप्त कुकरसहित प्रहरीले १२ बजेदेखि २ बजेसम्म मन्दिर परिसरमा भएका श्रद्धालु भक्तजनका साथै साधुसन्तलाई निकालेर सर्च गरेको थियो । मन्दिरको बाहिर र भित्रको भागमा सघन रुपमा गरेको सर्चका क्रममा केही फेला नपरेपछि २ बजेपछि मन्दिरमा प्रवेश खुला गरिएको धनुषा प्रहरी प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले जानकारी दिए ।

प्रमुख खनालले भने, ‘शंकास्पद वस्तु राखिएको सूचना आयो, संवेदनशील सूचना पाएपछि हामीले यसलाई गम्भीरताका साथ लियौं । जानकी मन्दिरमा निगरानी बढाउँदै पुरै मन्दिर खालि गराएर तालिम प्राप्त कुकुरसहित सर्च गरेका हौं ।’

मन्दिर सर्च अभियानका क्रममा प्रहरीले सुरक्षाका सबै तरिका अपनाएका थिए । जानकी मन्दिरमा बम भनिएको भए पनि केही शंकास्पद वस्तु फेला नपरेपछि सर्वसाधारणका लागि प्रवेश खुला गरिएको छ । गलत सूचना दिनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Featured