देश

प्रदेश २ः सरकारबिनाको हर्षाेल्लास

जनकपुर, असोज ३–बिहानैदेखि प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा मानिसहरुको चहलपहल छ । संविधान मनाउनेहरु पनि छन, संविधान संशोधनको माग गर्नेहरु पनि । केही त्यस्ता पनि छन् बजारमा के भइरहेको छ त्यो हेर्नपनि घरवाहिर निस्केका छन । संविधान मनाउनेहरुको एउटा जुलुस जनकपुरधाम नगरमा केहीवेर अघि परिक्रमा गरेर गएको छ । सो जुलुसमा केही कर्मचारी र सुरक्षाकर्मीहरु थिए । यता संविधान संशोधनको माग गर्नेहरु आ आफना साइकल, मोटरसाइकलमा कालो झण्डा लिएर घुमिरहेका छन ।

केही हातमा झण्डा वोकेर संविधानको पक्षमा नारावाजी गरिरहेका छन् । आज विरोध प्रदर्शन र ब्ल्याक आउट गर्ने कार्यक्रम रहेको राष्ट्रिय जनता पार्टीका महासचिव राजीव झाले वताए । ‘३ असोज २०७२ मा मधेशी जनतालाई दमन गरेर संविधान जारी गरेको र त्यो सविधानलाई अझै संशोधन नगरेको भन्दै त्यस दिनको सम्झनामा विरोध दिवसले हाम्रो घाउलाई ताजा गरेको छ ,’ उनले भने ।

असोज दिउँसो २ बजेदेखि प्रत्येक जिल्लामा विरोध जुलुस प्रदर्शन गर्नुको साथै साँझ ७ बजेदेखि ७ः१५ वजेसम्म ब्ल्याक आउट गर्ने राजपाले निर्णय गरेको छ । पार्टीले त्यसका लागि नेताहरुको जिम्मवारी बाँडफाँड समेत गरेको छ । २७ जिल्लाका लागि ४२ जनालाई खटाइएको छ । राजपा महासचिव झाका अनुसार जनकपुरधाममा आज ५ बजे जनक चोकबाट प्रदर्शन गर्ने कार्यक्रम राखिएको छ ।

संविधान संशोधन नभएकोमा प्रदेश २ को विभिन्न जिल्लामा निकै आक्रोश देखिएको छ । विहिवारदेखि विभिन्न जिल्लामा प्रदर्शनहरु भइरहेको छ । ‘बन्दुकको बलमा बुवा, छोरा, बुआरी, नाति, नातीनीलाई टाउको र छातीमा गोली हानी तानाशाह प्रवृत्तिले ल्याएको संविधान कसरी मान्न सकिन्छ,’ राजपाका विद्यार्थी संघका केन्द्रीय अध्यक्ष मनिष मिश्राले प्रश्न गरे ।

संशोधन नभएपछि पनि राजपा र समाजवादी पार्टी सरकारमा गए र सबैसुविधा लिइरहेका छन त्यसको आक्रोश पार्टी कार्यकर्ताहरुमा देखिएको छ । केही वुद्धिजिवीहरु म्धेशवादी दलको निकै आलोचना गरिरहेका छन । तिनीहरु समाजिक सञ्जालमा जथानाम पोष्ट गरेका छन । मधेश आन्दोलनमा पिएचडी गरेका लेखक राजेश अहिराजले समाजिक सञ्जालमा लेखेका छन, ‘यसै संविधान कै कारण आफू सभासद, छोरा पिए, श्रीमती सान्सद, ग्राहक र प्राण प्रिय लाई मन मौजी पद , भाइ लाई जिएम , सम्धी र भतिजो प्रदेश सभा सांसद, बुहारी र नाति स्थानिय तह मा अध्यक्ष र मेयर बनाउन सफल रहेका संविधान दिवस विरोधी सबै नेताहरु लाई समेत संविधान दिवसको शुभकामना ।’

तर त्यो आक्रोशका कारण आन्दोलन प्रभावित हुँदैन राजपा नेताहरु बताउँछन । संघीयता जोगाउन सरकारमा गएको राजपाका प्रदेश २ का सचेतक परमेश्वर साहले वताए । ‘हामी पदका लागि आन्दोलन छाड्न सक्दैनौ,’ उनले भने । जबसम्म संविधान संशोधन हुदैन तबसम्म संविधान सर्वस्वीकार्य हुन नसक्ने बताउँछन् राजपा महाचिव झा । नागरिकता सम्बन्धि ब्यबस्था २०६३ को अन्तरिम संबिधान बमोजिम होस, जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व, समग्र मधेश २ प्रदेश होस, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण होस, सेना पुलिसमा मधेसी आदिवासी जनजातिको समुहगत प्रवेश होस, संविधानमा सबै जातजातिले गर्व गर्न सक्ने गरि संविधान संसोधन होस, नेपालको बजेट बिनियोजन जनसंख्यालाइ आधार मानेर होस भन्ने माग आफुहरुका रहेको उनी बताउँछन् ।

प्रदेश २ सरकार संविधान दिवस सम्बन्धि आफैँले गरेको निर्णयबाट पछाडि हटेको छ । भव्यताका साथ संविधान दिवस मनाउने एकसाता अघि गरेको निर्णयको कार्यान्वयनमा अहिले पछाडि देखिएका छन । प्रदेश २ को विभिन्न जिल्लामा देखिएको विरोधका कारण यस्तो भएको स्थानीयहरु वताउँछन ।

सरकारकै निर्णय र पूर्व सूचना अनुसार पहिलो दिन २ असोजमा जनकपुरधामको जिरोमाइलदेखि बसपार्कसम्म सरसफाई तथा डेंगु नियन्त्रणसम्बन्धी जनचेतना मूलक कार्यक्रम भएपनि सो कार्यक्रममा प्रदेश २ सरकारका मुख्यमन्त्रीलगायत कुनै पनि मन्त्रीहरु सहभागी भएनन् । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँणेलको नेतृत्वमा भएको कार्यक्रममा प्रदेश सरकारका मन्त्री अनुपस्थित भए । मन्त्रालयका कर्मचारीहरु, नेपाली सेना, नेपाल तथा सशस्त्र प्रहरी र सरकारी अधिकारीहरुको मात्रै सहभागिता थियो । आजपनि यस्तै भयो ।

प्रदेश २ सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवले संविधान दिवसमा तटस्थ बस्ने प्रतिक्रिया दिए । संविधानमा धेरै उपलब्धि रहेकाले संविधानको विरोध पनि नगर्ने र संविधान संशोधन नभएसम्म दिवस पनि नमाउने मन्त्री यादवको भनाइ छ । यसअघि १७ भदौमा मुख्यमन्त्री लालबाबु राउतकै अध्यक्षतामा प्रदेश स्तरीय संविधान दिवस मूल समारोह समिति गठन भएको थियो । आन्तरिक मामिला तथा कानुन मन्त्रालय प्रदेश २ ले २७ भदौमा एक सूचना जारी गर्दै तीन दिवसीय रुपमा संविधान दिवस मनाउन आह्वान समेत गरेको थियो ।

जस अनुसार २ असोजमा जनकपुरको जिरोमाइलदेखि बसपार्कसम्म सरसफाई तथा डेंगु नियन्त्रणसम्बन्धी जनचेतना मूलक कार्यक्रम, ३ असोजमा संविधान दिवसको अवसरमा जानकी मन्दिरको प्रांगणबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसम्म प्रभातफेरी र अन्तिम दिन ४ असोजमा मधेस भवन परिसरमा सरसफाइ तथा बृक्षारोपण र मधेस भवन परिसरबाटै जानकी मन्दिरसम्म लागुऔषध दुर्व्यसनविरुद्ध जनचेतना मूलक रयाली गर्ने कार्यक्रम तय गरिएको थियो ।

२ असोजमा मुख्यमन्त्री कार्यालय र मन्त्रीहरुको कार्यालय र प्रदेश प्रमुख कार्यालयमा दिपावली मनाइयो तर सो दीपावलीमा मुख्यमन्त्री र मन्त्रीहरु सहभागी थिएनन । विगतमा मधेश किन आन्दोलित भयो र यो क्रम अझै किन जारी छ ? राजनीतिक वृत्तमा यो प्रश्नको उत्तर अपेक्षित छ । जबसम्म यो प्रश्नको समुचित उत्तरको खोजी गरिँदैन मधेशको आन्दोलन पूर्णतः मत्थर हुनसक्ने छैन ।

यो प्रश्नको उत्तर विना मधेशलाई गरिने सम्बोधनको प्रयास आंशिक हुनेछ र यस्तो सम्बोधनको प्रभाव ‘क्षणिक’ सम्ममात्र सीमित हुनेछ । यो प्रश्नको उत्तर नखोजी सम्बोधन चाहनुले तीनपटक आन्दोलनमा होमिएको मधेशमा अर्को आन्दोलनको पृष्ठभूमि तयार गर्ने प्रदेश २ का वुद्धिजिवीहरु बताउँछन् ।

Featured