देश

म र मेरो दल सपनाको सौदागर मात्र होइन : प्रधानमन्त्री

काठमाडौं, असोज ३–प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्नो दल सपनाका सौदागर मात्र नभएको बताएका छन् । संविधान दिवसका अवसरमा टुँडिखेलमा आयोजित कार्यक्रममा प्रधानमन्त्रीले भने, ‘भन्नकै लागि त भन्न सकिन्छ, खै त रेल, खै त पानी जहाज ? कता छ सतह जलमार्गमा मालवाहक सवारी कुदेको ? अझै जोड दिएर सोध्न सकिन्छ( हामीलाई सपना किन देखाएको ? हामीमा आशा किन जगाएको ? तर निराश भएका जनतामा आशाको सञ्चार अनिवार्य थियो ।’

आफूले सकियो, भत्कियो, अक केही हुन्न भन्ने मनस्थिति फेर्न र अब केही हुन्छ भन्ने जनतामा आशाको सञ्चार गराएको उनले बताए । त्यसमा विश्वास गरेर जनताले बलियो बहुमत दिएको उनको भनाइ छ । ‘यसबीचमा सरकारले विकासका लागि कतै जग हालेको र कतै पहिला वा दोस्रो तला थपेको छ,’ उनले भने ।

‘म विनम्रताका साथ स्वीकार्छु । हो, मैले मुर्छित सपनामाथि पानी छम्केकै हुँ । मैले भनेको हुँ( निदाएको बेलामा देख्ने सपना हैन, ब्युँझिएको बेलाको सपना देखौं,’ प्रधानमन्त्री ओलीले भने, ‘मेरो काम मुर्छित सपनाहरुलाई जगाउनु र तिनीहरुप्रति विश्वास बढाउनु थियो र ती विश्वास साकार पार्न हरेकले प्रयास गरुन्, जसबाट देश विकास सम्भव बनाउन सकिन्छ, समाज विकास सम्भव बनाउन सकिन्छ भन्ने थियो ।’ जब भविष्यप्रति आशावादी भइन्छ, सुन्दर भविष्यको सपना देखिन्छ तब मात्र देश बाँच्ने उनको भनाइ छ ।

Featured