देश

आबुधाबीमा अलपत्र १ सय २० जनालाई घर फर्काइयो

काठमाडौँ, असोज ३–यूएईको आबुधाबीमा अलपत्र १ सय २० जना नेपाली कामदारलाई स्वदेश फर्काइएको छ । नेपाली दूतावास, रोजगारदाता कम्पनी र स्थानीय अदालतको पहलमा उनीहरुलाई घर फर्काइएको हो । आबुधाबीमा रहेको एड्भान्स फ्यासिलिटी म्यानेजमेण्ट सर्भिसेस् (एलएलसी) मा कार्यरत २ सय ५० जना नेपाली कामदार समस्यामा थिए । समस्यामा परेका यी कामदारमध्ये १ सय २० लाई घर नेपाल फर्काइएको हो । बाँकी कामदार फिर्ता पठाउन प्रक्रिया थालिएको र छिट्टै नेपाल पठाइने दूतावासले जनाएको छ ।

पहिलो चरणमा पुरुष कामदारलाई घर फर्काइएको छ र दोस्रो चरणअन्तर्गत महिला कामदारलाई फर्काउन प्रक्रिया थालिएको दूतावासका श्रम सहचारी मोतीराम भुसालले जानकारी दिए । करार अवधि पूरा भएपछि कम्पनीले भिसा नवीकरण नगरेको र ६ महिनादेखिको तलबसमेत नदिएपछि कामदार समस्यामा परेका हुन् । उक्त कम्पनीमा नेपालीसहित अन्य देशका गरी ६ सय भन्दा धेरै कामदार समस्यामा छन् ।

Featured