देश

पहिलो चरणमा जापान जाने नर्सिङ केयरगिभरमात्रै

काठमाडौं, असोज ३–जापान रोजगारीका लागि पहिलो चरणमा नर्सिङ केयरगिभरमात्रै जान पाउने भएका छन् । १४ क्षेत्रका लागि कामदार लैजाने निर्णय गरेको जापानले पहिलो चरणमा नर्सिङ केयर गिभर लैजाने तयारी गरेको हो । नर्सिङ केयरगिभरका लागि अक्टोबर २७, २८ र २९ गते जापानी भाषाको परीक्षा मिति तोकिएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

अघिल्लो वर्ष जापानको मन्त्रिमण्डलले नेपाललगायत विभिन्न ९ मुलुकबाट १४ क्षेत्रमा काम गर्ने श्रमिक आपूर्ति गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार नेपाल जापानका रोजगारदाताका लागि श्रमिक आपूर्ति गर्ने सूचीमा परेको हो । जापानले आगामी पाँच वर्षसम्म सूचीकृत नौ मुलुकबाट करिब साढे ३ लाख श्रमिक लैजाने घोषणा गरेको छ । नेपालबाट कति लैजाने भन्ने निर्णय नभएको बताइएको छ । यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

Featured