देश

सामानमा अनिवार्य मूल्यसूची राख्न व्यवसायीको आग्रह

काठमाडौं, असोज २–नयाँ बानेश्वरका व्यापारी व्यवसायीले सबै सामानमा मूल्यसूची अनिवार्य राख्न आग्रह गरेका छन् । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा बिहीबार दिउँसो भएको छलफलपछि नयाँ बानेश्वर व्यापार व्यवसायी संघले सामानमा अनिवार्य मूल्यसूची राख्न संघमा आबद्ध व्यापारी व्यवसायीलगायत सबैलाई अपिल गरेको हो ।

सामान मूल्यसूची नराखेको पाइएपछि वाणिज्य विभागको अनुगमन टोलीले नयाँ बानेश्वरका दुई पसललाई जनही ५० हजार रुपैयाँ जरिवाना गरेपछि संघमा आबद्ध टोली विभागमा छलफलका लागि गएका थिए । अनुगमन टोलीले सम्झना गौतमको गुडविल बि फेसन र रञ्जना शर्माको एबिएस फेसन बर्डलाई कारबाही गरेको थियो ।

व्यवसायीलाई दसैंको समयमा दुःख दिइएको भन्दै संघमा आबद्ध ४०–५० जना व्यापारी छलफलका लागि विभाग पुगेका हुन् । संघका अध्यक्ष रामशरण गिरि, निवर्तनमान अध्यक्ष हेमबहादुर क्षेत्री, उपाध्यक्षहरू कल्पना दाहाल र खिमलाल खरेल, कोषाध्यक्ष रमेशमान शाक्य, सचिव नविन लुइँटेल, पूर्वसचिव खिमानन्द बस्याललगायतका व्यवसायीले दिउँसो विभागका महानिर्देशक योगेन्द्र गौचनसँग छलफल गरे ।

महानिर्देशक गौचनले विभिन्न कारण अनुगमनमा ढिलाइ भए पनि सरकारले सामानमा मूल्यसूची अनिवार्य गरेकाले राख्नैपर्ने स्पष्ट पारेका थिए । उपभोक्ता संरक्षण ऐन २०७५ को व्यापारी व्यवसायीले हुबहु कार्यान्वयन नगरे दण्डित गर्नेमा विभाग कटिबद्ध देखिएपछि संघमा आबद्ध व्यवसायीले मूल्यसूची राख्नेलगायत कानुन पालनाको प्रतिबद्धता जनाएको कोषाध्यक्ष शाक्यले जानकारी दिए । ‘व्यावसायिक मर्यादा कायम राख्नेमा व्यापारी सधैं सचेत छन्,’ उनले भने, ‘व्यवसायलाई स्वस्थ र पारदर्शी बनाउने पहिलो दायित्व व्यापारीकै भएकाले ऐन कार्यान्वयनका लागि सबैलाई अपिल गरेका हौं ।’

संघमा आबद्ध सबै व्यवसायीलाई अनिवार्य मूल्यसूची राख्नेलगायत उपभोक्ता अधिकार संरक्षणमा सचेत रहन आग्रह गरिएको कोषाध्यक्ष शाक्यले जानकारी दिए । नयाँ बानेश्वर व्यापार व्यवसायी संघमा करिब ५ सय व्यापारी आबद्ध छन् ।

Featured