देश

बजेट सक्न पर्यटनमन्त्रीसहितको टोली देश दौडाहामा

पोखरा, असोज २–गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक भ्रमण वर्ष सकिन करिब तीन महिना बाँकी छँदा सरकारले ३६ लाख खर्च गरेर प्रदेश भ्रमणमा निस्कने भएको छ । गण्डकी प्रदेश सरकार प्रदेशमा पर्यटन प्रवर्धन गर्ने नाममा ५० सदस्यीय जम्बो टोलीसहित ३६ लाख बजेट खर्च गर्ने गरी भ्रमणमा निस्कने तयारी गरेको हो ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, आन्तरिक पर्यटन वर्ष सन् २०१९ को सचिवालय र नेपाल पर्यटन बोर्ड, गण्डकी प्रदेश कार्यालयको आयोजनामा असोज ९ गतेदेखि १६ गतेसम्म एक जम्बो टोली प्रदेशमा निम्तो दिँदै भ्रमणमा निस्कने भएको छ । पोखरामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रदेश सरकारले आन्तरिक भ्रमण वर्षका लागि चालू आर्थिक वर्षमा विनियोजन गरेको १ करोडमध्ये तीन महिनामा ३६ लाख खर्च हुने पर्यटनमन्त्री विकास लम्सालले जानकारी दिए ।

टोलीमा मन्त्रालयबाट १०, निजी क्षेत्रबाट ३० तथा पत्रकार र कलाकारबाट ५÷५ जना सहभागी हुनेछन् । निजी क्षेत्रका तर्फबाट पोखरा पर्यटन परिषदले टोलीका सदस्य छनोट गर्नेछ भने पत्रकारको पत्रकार महासंघबाट छनोट भइसकेको छ । मन्त्री लम्सालले प्रदेशमा यो वर्ष १५ लाख पर्यटक भित्र्याउन सकिने दाबी गरे ।

गण्डकी प्रदेश पर्यटन प्रवर्धन अभियान २०१९ अन्तर्गत मन्त्रालयसहितको ५० सदस्यीय टोली विभिन्न प्रदेशमा निम्तो दिँदै भ्रमणमा निस्कने कार्यक्रम संयोजक जुद्धबहादुर गुरुङले बताए । निजी क्षेत्रको सक्रिय सहभागितामा प्रदेशको पर्यटन प्रवर्धन गर्न प्रदेश ५, ३, १ र २ मा भ्रमण टोलीले अवलोकन गर्दै उनीहरुलाई पोखरासहितको प्रदेशमा आउन निम्तो दिने भएको हो । विश्व पर्यटन दिवसको अवसरमा उक्त टोलीले प्रदेश ५ को वुटवल, भैरहवा र मणिग्राम, प्रदेश २ को वीरगन्ज, प्रदेश १ को विराटनगर र प्रदेश ३ को काठमाडौंमा पर्यटन प्रवर्धन गर्ने संयोजक गुरुङले जनाए ।

काठमाडौंमा भने २ प्रदेशका सरकारबीच व्यावसायिक कार्यक्रम, सरकार र व्यावसायिक प्रतिष्ठानबीच व्यापारिक सहकार्य, व्यापारीबीच अनुभव साटसाट सहकार्य, फोटो प्रदर्शनी, पत्रकार सम्मेलन, सांस्कृतिक कार्यक्रमलगायत गर्ने उनले बताए । प्रदेश सरकारले सन् २०१९ देखि २०२२ सम्मलाई गण्डकी प्रदेश भ्रमण वर्षको रुपमा घोषणा गरेकाले पहिलो वर्ष आन्तरिक भ्रमण वर्षको रुपमा मनाउँदै १५ लाख पर्यटक भित्र्याउने प्रदेश सरकारले लक्ष्य राखेको उनले जनाए ।

सन् २०२० लाई छिमेकी मुलुकका पर्यटन आकर्षण वर्ष, सन् २०२१ लाई पर्यटन पूर्वाधार निर्माण वर्ष र सन् २०२२ लाई अन्तर्रा्ष्ट्रिय पर्यटन भ्रमण वर्षको रुपमा मनाउँदै २० लाख पर्यटक प्रदेशमा भित्र्याउने प्रदेश सरकारले दीर्घकालीन योजनामा समेटेको छ । नेपाल सरकारले भने सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउँदै २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । गण्डकी सरकारले विश्व पर्यटन संघले तयार पारेको ‘पर्यटन र रोजगारी ः भविष्यमा सबैलाई लाभकारी’को नारा आत्मसात गर्ने भएको छ ।

गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालको नेतृत्वमा ५० सदस्यीय टोली अभियानमा निस्कनेछ । प्रदेश १, २, ३ र ५ का मुख्यमन्त्रीमार्फत सरकारी, गैरसरकारी निकायलगायत स्थानीय जनतालाई समेत मन्त्री लम्सालको नेतृत्वमा गएको टोलीले निम्तो दिनेछ ।

Featured