देश

राष्ट्रियसभाबाट प्राप्त ३ विधेयक स्वीकृत

काठमाडौँ, असोज २–राष्ट्रियसभाबाट संशोधनसहित प्राप्त विभिन्न ३ वटा विधेयकलाई प्रतिनिधिसभाले स्वीकृत गरेको छ । प्रतिनिधिसभाको आज बसेको बैठकले राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५, राहदानी विधेयक २०७५ र भूमिसम्बन्धी (आठौ संशोधन) विधेयक २०७५ लाई राष्ट्रियसभाबाट भएको संशोधनसहित स्वीकृत गरेको हो ।

राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५ र राहदानी विधेयक २०७५ लाई बैठकले सर्वसम्मति स्वीकृत गरेको थियो भने भूमिसम्बन्धी (आठौ संशोधन) विधेयक २०७५ लाई बहुमतले स्वीकृत गरेको थियो । भूमि विधेयकमा गरिएको व्यवस्थामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले असहमति जनाउँदै आएको छ ।

भूमिसम्बन्धी (आठौ संशोधन) विधेयक २०७५ का सम्बन्धमा राष्ट्रियसभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको छलफलमा सहभागी हुँदै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद र राजपाका सांसदहरुले सुकम्बासीको नाममा राज्यको जग्गा बाँड्ने ढंगले नीति बनाइएको भन्दै विरोध गरेका थिए । उनीहरुले भूमि नीति बनाउन खोजेको कि सर्वसाधरणलाई भूमिविहीन बनाउन खोजेको भनी मन्त्रीलाई प्रश्न गरे । सांसद लक्ष्मी परियाले भू–माफियालाई उकास्ने गरि सरकारले सार्वजनिक जग्गा मास्ने गरि ऐन ल्याएको भन्दै विरोध गरिन् । सांसद लक्ष्मणलाल कर्णले सार्वजनिक जग्गा मास्ने ऐनले मुलुक अघि बढ्नुको सट्टापछि पर्ने भन्दै पुर्नविचार गर्न मन्त्रीलाई आग्रह गरे । सांसद पुष्पा भुसालले पर्ती, ऐलानी र गौचरण मास्ने र राज्य नियन्त्रण गरेर सुकुम्बासीको नाममा जग्गा बाँड्ने मनसायले सरकारले ऐन ल्याएको भन्दै विरोध गरिन् ।

Featured