देश

अब सवै नेपालीले पेन्सन पाउने

काठमाडौं, असोज २–सरकारी लगानीसमेत रहेको नागरिक लगानी कोषले सबै नेपालीलाई पेन्सन दिने कार्यक्रमको घोषणा गरेको छ । कोषमा मासिक ५ सय रुपैयाँ कोषमा बचत गर्ने सबै नागारिकलाई पेन्सन दिने कार्यक्रम घोषणा गरेको हो । कोषले बैदेशिक रोजगारी, गैरआवाशीय नेपाली, स्वरोजगार, तथा अन्य कुनै पनि क्षेत्रमा कार्यरत नेपाली नागरिक सहभागी हुन पाउने गरी पीएवाइजी (पे एज यू गो) को आधारमा पेन्सन योजनामा रुपान्तरण गर्ने प्रावधानसहितको नागरिक बचत बृद्धि कार्यक्रम घोषणा गरेको हो ।

अहिलेसम्म कोषका कार्यक्रमहरु कर्मचारी केन्द्रीत थिए । यसको दायरा फराकिलो पारी ब्यापक सहभागितामूलक बनाउनुपर्ने आवश्यकता रहेकोले नयाँ कार्यक्रम घोषणा गरिएको कोषले जानकारी दियो । केन्द्रीय तथ्याङ्क विभागको तथ्याङ्कअनुसार करिब ७१ लाख श्रमशक्ति आयमुलक रोजगारीमा संलग्न छन् । रोजगारमा रहेका र तलवरज्याला प्राप्त गर्नेहरूको औसत मासिक आम्दानी १७ हजार ८ सय ९ रुपैयाँ छ । कुल रोजगारीमा रहेकामध्ये करिव १५ लाख रोजगारहरु कुनै न कुनै समाजिक सुरक्षा सहितको बचत कार्यक्रममा संलग्न रहेका छन् ।

बाँकी रोजगार श्रमशक्ति यस्तो बचत कार्यक्रमको दायराभन्दा बाहिर छन् । यही आवश्यकतालाई सम्बोधन गर्न कोषका अहिलेका योजनाहरुले नसमेटिएका क्षेत्र तथा समुदायलाई लक्षित गरी सर्वसाधरणलाई कोषको कार्यक्रममा आवद्धता गराउन सहभागितामूलक बचत कार्यक्रम संचालन गरिएको कोषको भनाइ छ ।

‘कोषमा सर्वसाधारण जनतालाई समेट्ने कुनै कार्यक्रम नरहेको र लामो समयदेखि कोषले कुनै पनि नयाँ कार्यक्रम नल्याएको सन्दर्भमा सर्वसाधारणलाई समेत सामाजिक सुरक्षाको प्रत्याभूति दिन र बचत गर्न प्रोत्साहित गर्ने उद्देश्यले निश्चित अवधि पछि पेन्सन योजनामा रुपान्तर गर्ने ऐच्छिक सुविधा यस कार्यक्रममा समाबेश गरिएको छ,’ कोषले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

कोषका अनुसार यो कार्यक्रमले नियमित वा निश्चित समयमा मात्र आय आर्जन गर्ने आम नागरिकलाई समेटने छ । गैरआवाशीय तथा वैदेशिक रोजगारीमा रहेका नेपाली, प्रचलित कानुन बमोजिम दर्ता भएको प्रतिष्ठान र सो प्रतिष्ठानमा कार्य गर्ने कामदार श्रमिकहरु, स्वरोजगारमा रहेका सर्वसाधारणलाई पनि कार्यक्रमले समेटने छ ।

यस्तो कार्यक्रममा सहभागी हुन न्यूनतम मासिक ५ सय रुपैयाँदेखि क्षमता अनुसार अधिकतम रकम जम्मा गर्न सकिने प्रावधान राखिएको छ । साथै, यस कार्यक्रममा सहभागीहरुले एकमुष्ठ वा अनुकुलता अनुसार पटक पटक गरेर पनि बचत गर्न सक्ने ब्यवस्था गरिएको कोषले जानकारी दियो ।

यस्तो योजनामा सहभागी भई २ वर्षसम्म नियमित बचत गरेपछि बचतकर्तालाई जम्मा रकमको ८० प्रतिशतसम्म सहभागी सापटी उपलब्ध गराइने कोषको भनाइ छ । यस्तै, २ वर्षसम्म बचत गर्ने बचतकर्ताहरुलाई धितोमा आधारित आवास, सरल एवं शिक्षा कर्जा जस्ता कोषले प्रवाह गर्ने कर्जा सुविधाहरु उपलब्ध गराइनेछ ।

यस्तो सुविधाबाहेक सहभागीहरलाई निश्चित मापदण्डको आधारमा दुर्घटना बीमा, औषधी उपचार बीमा, मृत्यु संस्कार खर्च र सुत्केरी खर्च जस्ता समाजिक सुरक्षाका सुविधाहरु समेत समावेश गरिने कोषले जानकारी दियो । यो कार्यक्रममा कोषले समय समयमा निर्धारण गरेको ब्याजको अलवा थप प्रतिफलको समेत ब्यवस्था गरिने भएको छ ।

यो योजनामा संकलित रकम राष्ट्रिय गौरवका आयोजनाहरुमा लगानी गर्दा बचतकर्तालाई सहभागी गराउने ब्यवस्था मिलाईने कोषको भनाइ छ । निजी अस्पतालहरुसँग समझदारी गरेर यो कार्यक्रममा सहभागी हुने बचतकर्ताहरुलाई औषधीउपचार गर्दा विशेष छुटको ब्यवस्था समेत गरिने कोषले जानकारी दिएको छ ।

कोषले हालसम्म कर्मचारी बचत वृद्धि, नागरिक एकांक योजना, उपदान कोष योजना, लगानीकर्ता हिसाब योजनालगायतका विभिन्न बीमा कोषहरु समेत गरी कुल ११ ओटा योजनाहरु प्रभावकारी रुपमा व्यवस्थापन गर्दै आइरहेको छ । कोषले गत असार मसान्तसम्ममा कोषले कुल १ खर्ब ३१ अर्ब रुपैयाँ बचत परिचालन गरिरहेको छ ।

Featured