देश

सडक र पुलले ओझेलमा पारेको केलादी घाट

बेझाड, असोज २–कुनै समय पाल्पाको केलादीघाट नाम सुनेपछि पुण्य प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास गरिन्थ्यो । केलादीघाट भएर वारपार नगर्दासम्म धेरैको जीविका नै चल्दैनथ्यो । अठार घाटमध्ये मूलघाटका रुपमा लिइएको पाल्पा रामपुरको केलादीघाट अहिले भने ओझेलमै छ । न त यसको पूर्वाधारमा सम्बन्धित निकायले चासो देखाएको छ न त स्थानीय व्यक्तिले नै । काठमाडौँ, पोखरा, बुटवललगायत सहर तथा भारतसम्म ओहरदोहर गर्न यही केलादीघाट प्रयोग गरिन्थ्यो ।

धार्मिक हिसाबले पनि उत्तिकै महत्व बोकेको केलादीघाट अहिले समयको परिवर्तनसँगै ओझेलमा परेको छ । कालीगण्डकीका विभिन्न घाटमा झोलुंगे तथा पक्की पुल बनेपछि र गाउँ सहरसम्म सडक पुगेपछि यसको महत्व कम हुँदै गएको हो । घुमारीघाट, बालीघाट, खर्साङघाट, सामरीघाट, पुट्टारघाट, केलादीघाट, खोरियाघाट, आँधीघाट, डुम्रीघाट, राम्दीघाट, दर्पुकघाट, रानीघाट, रिडिघाट, मिर्मीघाट, असेर्दीघाट, सेतीवेणीघाट, अस्लेवाघाट, बुलिङघाटमध्येको मूलघाट केलादीघाट हो ।

कालीगण्डकी वारिपारि पाल्पा र स्याङ्जा दुवैतिरको खण्डलाई केलादीघाटका रूपमा चिनिन्छ । सडक सञ्जाल नजोडिँदासम्म नदीको वारिपारि बाक्लो बस्तीले ढाकिएको थियो । दुवैतिर नदी किनारमा होटल, पसलजस्ता व्यवसाय सञ्चालन गर्ने र यहीँ बास बसेर काठमाडौँ, पोखरा, बुटवल, भारतसम्म आउनेजाने गरिन्थ्यो । यात्राका क्रममा यही घाटमा बास बसेर मात्र अन्यत्रको यात्रा तय हुन्थ्यो ।

केलादीघाटमा पाइला टेके मात्र पुण्य प्राप्त हुने र सम्पूर्ण मनोकांक्षा पूरा हुने भएकाले पनि धेरैजसो त दर्शनकै निम्ति मात्र आउने गरेको रामपुर नगरपालिका(३ गण्डकी ढिक बस्ने ८२ वर्षीय डिल्लीराज दुवाडी बताउँछन् ।

विगतमा केलादीघाटका वारिपारिका किनारमा ससाना टहरा, झुप्रा बनाएर बस्ने, नदीमा नुहाउने, आउने जानेको चलहपहल हुने गरेको स्मरण गर्दै उनले भने, ‘दैनिक ठूलो संख्यामा आउनेजानेको भीड हुन्थ्यो । व्यापार व्यवसाय पनि राम्रै चल्थ्यो । डुंगामा पालो पाउन हम्मेहम्मे हुन्थ्यो । यात्रुहरुलाई पालो नपाएर बास नै बस्नुपर्ने स्थिति हुन्थ्यो ।’ चाडपर्व, मेलाका बेला हजारौँ यात्रुहरू एकैदिन भित्रने गर्दा रमाइलो हुने गरेको उनको अनुभव छ । गाउँगाउँमा विकास हुँदै जान थालेपछि केलादीघाट क्षेत्रको महत्व कम हुन पुगेको हो ।

पायक पर्ने ठाउँमा पुल निर्माण र गाउँगाउँमा गाडी गुड्न थालेपछि केलादीघाट प्रयोग गर्नेको संख्या घट्दै गएर सुनसान बन्न पुगेको रामपुर नगरपालिकाका कार्यपालिका सदस्य देवबहादुर दर्जी बताउँछन् । ‘रामपुर नगरपालिकाले केलादीघाट क्षेत्रको पौराणिक महत्वलाई जोगाउन संरक्षण अभियान गर्ने र यहाँ रहेका पुराना मठ मन्दिरको जीर्णोद्धार गरी पुरानै स्वरूपमा फर्काउने योजना बनाएको छ,’ उनले भने । (रासस)

Featured