देश

अब काठमाडौंका पार्क घुम्दा पैसा नलाग्ने

काठमाडौं, असोज २–काठमाडौं महानगरपालिकाले संविधान दिवसको अवसरमा काठमाडौंका पार्क घुम्न पैसा तिर्नु नपर्ने व्यवस्था गरेको छ । आजदेखि ४ गतेसम्म काठमाडौंको रत्नपार्क र बालजुपार्कमा घुम्न जानेसँग कुनै शुल्क नलिइने महानगरले जनाएको छ । यसअघि संचार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले संविधान दिवसको बिदा पार्कमा घुम्न र डेटिङ जान नदिइएको बताएका थिए ।

तर महानगरपालिकाले भने संबिधान दिवसलाई भव्य बनाउन भन्दै पार्कमा समेत प्रवेश शुल्क नलिन सम्बन्धित निकायलाई निर्देशन दिएको छ । बालाजु स्थित बाइसधारा र रत्नपार्कमा प्रवेशका लागि २५ रुपैयाँ शुल्क लाग्छ । संविधान दिवस भव्य रुपमा मनाउन पनि काठमाडौँ महानगरपालिकाले सहजीकरण गर्ने भएको छ । संविधान दिवसका दिन टुंडिखेलमा हुने भव्य समारोहमा आउने सर्वसाधारणका लागि समेत महानगरपालिकाले बस्ने कुर्सी, पिउने पानी, शौचालय, आकस्मिक उपचार सेवालगायत उपलब्ध गराउने भएको छ ।

कार्यक्रम स्थललाई व्यवस्थापन गर्न आवश्यक पर्ने फलाम आदिको पाईप राखेर ध्वजा पतकासहितको तोरण र हावा भरेको बेलुनले सजावट गर्ने जस्ता काम पनि महानगरले गर्ने भएको छ । प्रत्येक वडा कार्यालयहरुबाट जनप्रतिनिधि कर्मचारी स्थानीयवासीलगायत स्थानीय सहभागी गराएर सांस्कृतिक झाँकीसहितको ¥याली कार्यक्रम स्थल सैनिक मञ्चसम्ममा ल्याउने, सहभागीलाई राष्ट्रिय झण्डासहित र्यालीमा सहभागी गराउन हरेक वडा कार्यालयलाई ४×३ फिटका एकरएक सय थान राष्ट्रिय झण्डा उपलब्ध गराउने जस्ता काम पनि महानगपालिकाले नै गर्नेछ ।

शिक्षा बिभागमार्फत विद्यालयहरुमा संविधान दिवस तथा राष्ट्रिय दिवस र नेपालको राष्ट्रिय झण्डालगायत राष्ट्रभक्तिका बिषयमा कविता, वक्तृत्वकला र हाजिरी जवाफ प्रतियोगिता सञ्चालन गर्ने र प्रत्येक बिधामा पहिलो, दोश्रो र तेश्रो हुनेलाई पुरस्कारको व्यवस्था गर्ने समेत निर्णय महानगरले गरेको छ ।

महानगरले महानगरबासीलाई आफ्नो घरमा ४×३ फिटको राष्ट्रिय झण्डा फहराउन समेत आग्रह गरेको छ । दिवसका दिन सैनिक मञ्चमा हुने विभिन्न कार्यक्रममा महानगरले नेपाली सेनालाई भौतिक तथा आर्थिक सहयोग उपलब्ध गराउनेछ । यसमा नेपाली सेनाले गर्ने सैनिक मञ्चको सजावट, फूल गमला, सगुन, शौचालय, सरसफाई लगायतका कामका लागि ५० हजार रुपैयाँ महानगरले उपलब्ध गराउने छ ।

त्यस्तै मञ्चको दुवैतर्फ राख्न कपडाको व्यानर र नेपाली सेनाले उडाउने हेलिकप्टरमा संविधान दिवस २०७६ अङ्कित ब्यानर, सैनिक मञ्चमा आवश्यक पर्ने कुर्सी महानगरले उपलब्ध गराउनेछ । दिवसको अवसरमा महानगर मातहत कार्यालयहरुमा असोज २, ३ र ४ गते तीन दिन बेलुका दीपावली हुनेछ भने यस कामका लागि नागरिकहरुलाई पनि आव्हान गरिने महानगरले जनाएको छ ।

Featured