देश

पोखरामा ‘किसान बजार’ सञ्चालन

पोखरा, असोज १–पोखरामा कृषकबाट उत्पादन भएको कृषि उत्पादनलाई सिधै उपभोक्ताले खरिद गर्न पाउने गरी साढे ६ लाख रुपैयाँको लागतमा ‘किसान बजार’ सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाले कृषिउपज सिधै उपभोक्तालाई विक्री गर्ने गरी पोखरा– १७, पार्दी विरौटामा उक्त बजार संचालनमा ल्याएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले भने, ‘हामीले किसानलाई प्रोत्साहन हुने र आम उपभोक्तालाई ताजा कृषिजन्य उत्पादन सहुलियत मूल्यमा उपलब्ध गराउने गरी ‘किसान बजार’ संचालनमा ल्याएका हौं । महानगरले अन्य केही स्थानमा पनि यस्ता कृषि बजारको स्थापना गर्ने लक्ष्य लिएको छ ।’

किसान बजारमा मानव स्वास्थ्यमाथि असर पर्ने कुनै पनि फलफूल तथा तरकारी विक्रीवितरण गरेको भेटिए महानगरले कारबाही गर्ने मेयर जिसीले बताए । उनले भने, ‘महानगरको कृषि महाशाखाले कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुहरूको बजारको समेत ग्यारेन्टी गर्नेछ।’

दैनिक बिहान ६ देखि ९ः३० बजेसम्म र दिउँसो ४ देखि साँझ ७ बजेसम्म खुल्ला रहने सो किसान मेलामा २५ वटा स्टल रहेका छन् । उक्त किसान बजार सञ्चालनमा आएपछि कृषकहरूले उत्पादन गरेका कृषिजन्य उत्पादन सिधै उपभोक्ताले किन्न पाउने महानगरको विश्वास छ।

महानगरको कृषि महाशाखाका प्रमुख वरिष्ठ बागवानी विकास अधिकृत मनहर कडरियाले महानगरले किसानलाई निःशुल्क स्टलको व्यवस्था मिलाएको बताए । उनका अनुसार महानगरले पोखरा क्षेत्रका काहुँखोला, ठुलीपोखरी, साविक लेखनाथलगायतका स्थानहरूमा पनि ‘किसान बजार’ सञ्चालनको तयारी थालेको जानकारी दिए ।

Featured