देश

पहिरोले पुरिएर ४ वर्षीय बालकको मृत्यु, २५ घर उच्च जोखिममा

काभ्रेपलान्चोक, असोज १–काभ्रेमा अविरल वर्षासँंगै आएको पहिरोले घर पुरिदा काभ्रेमा ४ वर्षीय बालकको मृत्यु भएको छ । बुधबार बिहान करिव ६ बजेतिर आएको पहिरोले पाँचखाल नगरपालिका–४ फेदीबजारका रोजन तामाङको घर पुरिदा घरभित्र रहेका ४ दिपेश तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले घर पुरिएपछि घर भित्रै रहेका बालकको पुरिएर मृत्यु भएको हो । परिवारका अन्घय सदस्य घरबाट बहिर निस्किएका कारण बालक निकाल्न नपाएको स्थानीयले बताए । पुरिएको बालकको शव प्रहरीले स्क्याभेटरको सहयोगमा ३ घण्टा पछि निकालेको छ ।

वर्षासँगै आएको पहिरोका कारण भुम्लु गाउँपालिका–६ कोलातीको २५ घर उच्च जोखिममा परेको छ । मध्यपहाडी लोक मार्गको कारण लोक मार्ग मुनितिको बस्ती उच्च जोखिममा रहेको भुम्लु गाउँपालिका–६ का वडाअध्यक्ष भरतबहादुर शिवभक्तिले जानकारी दिए ।

भुम्लु गाउँपालिका–६, कोलातीका २५ घर उच्च जोखिममा रहेको र उनीहरुमध्ये केहीलाई राती र कोहीलाई बिहान सुरक्षित स्थान सारिएको गाउँपालिका अध्यक्ष गुमानध्वज कुँवरले जानकारी दिए ।

मध्य पहाडी लोकमार्ग बनाउन खनिएको ट्र¥याक माथिबाट पहिरो खसेको छ भने बस्तीमाथिबाट पनि ढिस्का खसेको कारण २५ घरपरिवार नै जोखिममा रहेको गाउँपालिका अध्यक्ष कुँवरले बताए । वर्षासँगै आएको पहिरोले बुधबार जिल्लाको बीपी राजमार्गको लास्कोटबेसी र नार्केबजारमा राजमार्ग अवरुद्ध भएको थियो ।

Featured