देश

सेयर बजारमा दुई दिनमै ५० अंकको वृद्धि

काठमाडौं, असोज १–सेयर बजार परिसूचक नेप्से दुई दिनमै करिब ५० अंक बढेको छ । मंगलबार २६.९१ अंकले बढेको बजारमा बुधबार २२.६८ अंकको उछाल आएको हो । साताका सुरुका दुई दिन सेयर बजार करिब ३४ अंकले ओरालो लागेको थियो । मंगलबार ट्रेडिङबाहेकका सबै समूह उकालो लागेपछि समग्र बजार परिसूचक सकारात्मक बनेको हो । व्यापार समूह भने स्थिर रह्यो ।

बुधबार नेप्सेसँगै करोबार रकममा पनि उत्साह आएको छ । बुधबार १७१ कम्पनीको १६ लाख ४५ हजार ८७७ कित्ता सेयर ४७ लाख ६८ हजार रुपैयाँमा किनबेच भएको छ । यो रकम मंगलबारको तुलनामा करिब ९ करोड बढी हो । मंगलबार ३८ करोड ३९ लाखको सेयर कारोबार भएको थियो ।

बुधबार सबैभन्दा धेरै होटल ३.६८ प्रतिशतले बढेको छ । त्यस्तै, जीवन बिमा समूह ३.४ तथा निर्जीवन बिमा समूह ३.२८ प्रतिशतले बढेका छन् । उत्पादनमूलक २.९८, लघुवित्त २.२२ तथा बैंकिङ १.७७ प्रतिशतले उकालो लागेका छन् ।

सिन्धु विकास बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने समता माइक्रोफाइनान्स, राधी हाइड्रोपावर र ग्लोबल आइएमई लघुवित्तको सेयर मूल्य पनि ९ प्रतिशतभन्दा धेरैले बढेको छ । सूर्य लाइफ इन्स्योरेन्स, गुराँस लघुवित्त, हिमालयन जनरल इन्स्योरेन्स र शिवम् सिमेन्ट लगानीकर्ताले पनि ९ प्रतिशतभन्दा धेरैले कमाएका छन् ।

बजारप्रति नकारात्मक धारणा रहेको आरोप खेप्दै आएका अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार ‘सेयर बजार घटेकाले किन्ने उपयुक्त समय भएको’अभिव्यक्ति दिएपछि बजारमा उत्साह छाएको हो । कर्मचारी सञ्चयकोषको ५८औं वार्षिकोत्सवमा अर्थमन्त्रीले बैंकहरूको नाफा बढिरहेको, वित्तीय प्रणाली सबल भइरहेको, राजनीतिक स्थायित्व भएको र करको समस्या समाधान भएको भन्दै लगानीकर्ता र सार्वजनिक संस्थाहरूलाई लगानी गर्न आग्रह गरेका थिए ।

Featured