देश

भारतको असाममा प्रहरीको कुटाइबाट महिलाको गर्भपात, कुटपिट गर्ने प्रहरी निलम्बित

एजेन्सी, असोज १–भारत असाममा प्रहरीको कुटाइबाट एक महिलाको गर्भपात भएको छ । दरंग जिल्लास्थित प्रहरी चौकीका इञ्चार्ज र एक कन्स्टेबलको कुटाइबाट ती महिलाको गर्भपात भएको हो । यसरी महिला र उनका दुई बहिनीमाथि कुटपीट गर्ने प्रहरी चौकीका इञ्चार्ज र महिला कन्स्टेबल निलम्बनमा परेका छन् ।

घटना १० दिनअघि अर्थात् ८ सेप्टेम्बरको हो । तर, पीडित महिलाले मंगलबार मिडियामा आफूमाथि भएको अत्याचारबारे बोलेकी हुन् । पीडित महिलाले आफू दुई महिनाको गर्भवती भएको र चौकीमा प्रहरीको पिटाइका कारण गर्भपात भएको बताएकी छन् ।

‘मेरी ठूली दिदी गर्भवती हुनुहुन्थ्यो । उहाँलाई प्रहरीले कुटेपछि निकै ब्लीडिङ भएको थियो । पुलिसले मेरी दिदीको कमर र खुट्टामा डन्डा बर्साएको थियो,’ पीडित महिलाले आफ्नो पहिचान सार्वजनिक नगर्ने शर्तमा भनिन्, ‘पछि जब भिनाजुले दिदीलाई अस्पताल लैजानु भयो तब डाक्टरले मेरी दिदीको पेटमा भएको बच्चा खराब भइसकेको बताए । मेरी दिदीको पेटमा दुई महिनाको बच्चा थियो ।’

यसैबीच, प्रहरीले पीडित महिलाको उजुरीपछि मुद्दा दर्ता गरेको छ । राज्यका मुख्यमन्त्री सर्बा्निन्द सोनोवालले सेन्ट्रल वेस्टर्न रेन्जका डीआईजीलाई यस घटनामा सुक्ष्म अनुसन्धान गर्न निर्देशन दिएका छन् ।

‘यो घटना सिपाझार थाना क्षेत्रस्थित बूढा आउटपोस्टको हो,’ दरंग जिल्लाका अतिरिक्त प्रहरी अधिक्षक उज्जल बरुआलाई उदृत गर्दै बीबीसीले उल्लेख गरेको छ, ‘गुवाहाटीबाट सोधपुछका लागि थाना पुर्याइएका महिलाका भाइ रऊपुल अलीमाथि एक युवतीको अपहरण गरेको मुद्दा परेको थियो ।’

बरुआका अनुसार प्रहरी रऊफुल अलीको खोजीमा उनको भाइको घर गएको थियो र परिवारका केही सदस्यलाई सोधपूछका लागि भन्दै थानामा लिएर आएको थियो । तर, महिलाले थानामा आफूमाथि कुटपिट भएको आरोप लगाएको बरुआले बताए । तीनै महिलाको उजुरीका आधारमा बूढा आउट पोस्टका इन्चार्ज सब–इन्स्पेक्टर महेन्द्र शर्मा र महिला कन्स्टेबल बिनीता बोडोलाई निलम्बित गरिएको हो । यो मुद्दामा अनुसन्धान चलिरहेको अतिरिक्त पुलिस अधीक्षक बरुआले जानकारी दिए ।

‘महिलाहरुले आफ्ना उजुरीमा कुटपिटको आरोप महिला कन्स्टेबल बिनीता बोडोमाथि लगाएका छन्, ’ बरुवाले भने, ‘उजुरीमा कुटपिट भएको समयमा आउट पोस्टका इन्चार्ज महेन्द्र शर्मा पनि त्यही थिए । तर, यो जाँचको विषय हो र जाँच पूरा भएपछि मात्रै आरोपको वास्तविकता थाहा हुने छ ।’

भारतीय दण्ड संहिताअनुसार कोही व्यक्तिले कुनै महिलाको मर्यादा भंग गर्छ, उमाथि आक्रमण वा जोर जबरजस्ती गर्छ भने त्यस्ता व्यक्तिमाथि आईपीसीको धारा २५४ र ३५४ बी आकर्षित हुन्छ । जबकि, कसैलाई गम्भीर चोट पुर्याउनेलाई धारा ३२५ र ज्यान मार्ने धम्की दिनेलाई ५०६ को प्रयोग गरिन्छ । यी सबै धाराहरुमा अपराधीका लागि २ वर्षको जेल सजायको प्रावधान छ ।

Featured