देश

शैलजा आचार्य स्मृति पोलिटेक्निकका प्रशिक्षक तथा कर्मचारी अझै आन्दोलित

विराटनगर, असोज १–४० प्रतिशत तलब वृद्धिको माग राख्दै आएका शैलजा आचार्य स्मृति पोलिटेक्निकका प्रशिक्षक तथा कर्मचारीहरूले आफ्नो आन्दोलनलाई निरन्तरता दिएका छन् । सरोकारवाला संस्थालाई गुहार्दासमेत माग पूरा नभएपछि उनीहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन् ।

गत भदौ २० गतेबाट आन्दोलित जहदा गाँउपालिका ४ स्थित सो पोलिटेक्निकमा कार्यरत प्रशिक्षक तथा कर्मचारीहरूले आन्दोलनलाई निरन्तरता दिएका हुन् । सरोकारवाला मन्त्रालय, निकाय र माउ संस्थालाई गुहार्दासमेत माग पूरा नभएपछि पछिल्लो समय उनीहरू धर्नामा बसेका छन् । आन्दोलनरत पक्ष र संचालक समितिको सोमबार वार्ता भए पनि असम्बन्धित व्यक्ति वार्तास्थलमा प्रवेश गराएर वार्ता भाँडिएको कर्मचारीहरूको आरोप छ ।

वार्ता सहमतिमा पुग्नै लागेको बेला संस्थाका प्रिन्सिपल सन्तबहादुर अधिकारीले बोलाएका असम्बन्धित व्यक्तिका कारण वार्ता भाँडिएको नर्सिङ प्रशिक्षक शशिकला तिवारीले बताइन् । संचालक समिति आफूहरूको मागप्रति सकारात्मक रहे पनि प्रिन्सिपल अधिकारीकै कारण वार्ता भाँडिएको उनीहरूको आरोप छ । विगतमा सरकारले तलबमा २५ प्रतिशत वृद्धि गरेको भए पनि आफूहरूलाई तलबको साटो भत्तामा वृद्धि गरी अलमल्याइएको आन्दोलनरत पक्षले जनाएको छ ।

संस्थाको विधानमा पोलिटेक्निकमा काम गर्ने कर्मचारी तथा प्रशिक्षकहरूले प्रचलित स्केलअनुसार तलबसुविधा पाउने उल्लेख रहे पनि नेपाल सरकारले दुई पटक तलब वृद्धि गरिसक्दा पनि आफूहरूले सोअनुसारको तलब नपाएको भाइस प्रिन्सिपल सुनिता राउतले जानकारी बताइन् । पोलिटेक्निकमा विगत ९ वर्षदेखि काम गर्दै आएकी सातौं तहकी कर्मचारी चम्पा खड्काले आफूले नियमानुसार ३५ हजार ९ सय ९० रुपैयाँ जम्मा तलब पाउनुपर्ने भए पनि २४ हजार ३ सय ८९ रुपैयाँ मात्र पाउँदै आएको बताइन् ।

२०७२र७३ मा नेपाल सरकारले गरेको तलब वृद्धिपछि आफूहरूसँग नियमविपरीत बार्गे्निङ गर्न थालिएको उनको गुनासो छ । आन्दोलनमा उत्रिएका कर्मचारी तथा प्रशिक्षकहरूले हातमा कालो पट्टी बाँधेर कार्यस्थलमै धर्नामा बसेका छन् । उनीहरूले पोलिटेक्निकका प्रिन्सिपल अधिकारीको कार्यकक्षका साथै प्रशासनिक कोठामा समेत तालाबन्दी गरेका छन् । प्रिन्सिपल अधिकारीले भने आफ्नो कारणले वार्ता भाँडिएको आरोपमा कुनै सत्यता नरहेको दाबी गरे । उनले कर्मचारीको आन्दोलन र माग पूरा गर्ने विषय बोर्डसँग सम्बन्धित रहेको बताउँदै आफू सहयोगीको रूपमा मात्र वार्तामा बसेको बताए ।

Featured