देश

निःशुल्क घरवास तालिम

पोखरा, असोज १–घरवास (होमस्टे) ले उपलब्ध गराउने खाना प्रांगारिक नभएको बजारिया खानेकुरा नै दिने गरेको, आतिथ्यता पनि नभएको भन्ने गुनासा सुनिएपछि र लायन्स क्लब अफ पोखरा हेरिटेजले होमस्टेसम्बन्धी निःशुल्क तालिम दिन थालेको छ । कास्कीको पुम्दीभुम्दीस्थित कालावाङ घडेरी होमस्टेका २५ सदस्यलाई होमस्टेमा आतिथ्य सत्कारदेखि स्थानीय कृषि उत्पादन, प्रांगारिक खानामा आकर्षक साजसज्जाजस्ता विषयमा दुईदिने तालिम दिइएको छ । यस्तो तालिमलाई अन्य क्षेत्रमा विस्तार गरिने हेरिटेजका अध्यक्ष विजय पौडेलले बताए ।

‘हामीसँग सीप छ त्यो हामी बाँडेर अरुलाई पनि आत्मनिर्भर बनाउन चाहन्छौँ । यो अभ्यास हामीले लायन्स क्लब हेरिटेजबाटै सुरुआत गरेका हौं,’ उनले भने । यसअघि कान्तिपुर टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेजको प्राविधिक सहयोगमा आर्थिक रूपमा विपन्न ४० महिलालाई १८ दिनको कुकिङ तालिम दिइएको र केहीलाई क्लबको पहलमा रोजगारसमेत दिलाइएको उनको भनाइ थियो ।

युवालाई स्वदेशमै रोजगार प्रदान गर्ने र दक्ष जनशक्ति उत्पादन गर्ने अभियानमा लायन्स क्लबले विभिन्न खालका सीपमूलक तालिम दिँदै आएको क्लबका प्रथम उपाध्यक्ष ओम उपाध्यायले बताए । तालिमले हामेस्टेका सदस्य प्रत्यक्ष लाभान्वित भएको कालाबाङ सामुदायिक होमस्टे अध्यक्ष एवं बजार व्यवस्थापक रवीन्द्र गुरुङले बताए ।

गण्डकी प्रदेश सरकारले ग्रामीण पर्यटन प्रवर्द्धन गरी आन्तरिक तथा बाह्य पर्यटकलाई गाउँगाउँमा पुराएर स्वरोजगार सिर्जना गर्न ३० करोड बजेट छुट्याएको छ । गाउँगाउँमा होमस्टे सञ्चालन गर्नका लागि प्रदेश सरकारले गत आर्थिक वर्षमा ३ सय होमस्टेलाई १० लाख रूपैयाँका दरले रकम दिने निर्णय गरेको थियो । (रासस)

Featured