देश

कानुनमन्त्रीको प्रतिवद्धतासँगै संसद् अवरोध खुल्यो

काठमाडौं, असोज १–बाँकेको खजुरास्थित सितापुरमा भएको कांग्रेसको कार्यक्रममा आक्रमण गरी पार्टी जिल्ला सभापति किरण कोइरालालगायतलाई घाइते बनाउने दोषीलाई कारबाही गर्ने कानूनमन्त्री भानुभक्त ढकालको प्रतिवद्धतासँगै प्रतिनिधिसभाको अवरुद्ध बैठक खुलेको छ ।

गत २६ भदौमा कांग्रेस बाँकेकी अध्यक्ष कोइरालामाथि आक्रमण गर्ने दोषीलाई किटानी जाहेरी दिँदासमेत पक्राउ नगरिएको भन्दै कांग्रेसले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्दै आएको थियो । प्रतिनिधिसभाको बुधबारको बैठकमा कानूनमन्त्री भानुभक्त ढकालले बाँकेको खजृुरामा भएको घटनाका कुनै पनि अपराधी र घटनामा संलग्नहरूलाई कानूनी दायरामा ल्याउन सरकार प्रतिवद्ध रहेको जनाएपछि बैठक संचालन भएको थियो ।

‘गल्ती गरेका कोही उम्कँदैनन र गल्ती नगरेका कोही फस्दैनन्’, मन्त्री ढकालले भने, ‘सरकारलाई विश्वास गरिदिन माननीयज्यूमा अनुरोध गर्छु ।’ मन्त्री ढकालले घटनाका दोषीलाई कानूनी दायरामा ल्याउने सम्बन्धमा प्रधानमन्त्री केपी शर्मा ओली र विपक्षी दलका नेताबीच छलफल भएकाले सोहीबमोजिम सहमतिमा आउन आग्रह गरे । सभामुख कृष्णबहादुर महराले बुधबार सार्वजनिक महत्त्वको विषयमा जानकारी दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवलाई समय उपलब्ध गराएका थिए ।

Featured