देश

चीन–अमेरिका व्यापार मन्दीसँगै जापानको निर्यात घट्यो

एजेन्सी, असोज १–जापानको निर्यात अघिल्लो वर्षको तुलनामा गत अगष्ट महिनामा १२ प्रतिशतले घटेको छ । अमेरिका र चीनबीच जारी व्यापार तनाब र करवृद्धिका कारण जापानको निर्यात प्रभावित भएको विश्लेषकहरुले बताएका छन् । जापानी सामानको प्रमुख बजार चीन र अमेरिका नै रहेकाले पनि जापानको निर्यातमा असर परेको हो । जापानका मेसिनरी, सवारी साधन र केमिकल सबैको निर्यात घटेको छ ।

गत अगष्ट महिनामा जापानको आयात पनि घटेको पाइएको छ । आयातमा भएको गिरावट विगत तीन वर्षकै सबैभन्दा बढी हो । जापानमै पनि बजारमा सामानको मागमा मन्दी छाएको छ । अमेरिकातर्फको शिपिङ व्यवसाय ४ प्रतिशतले घटेको छ भने चीनतर्फको शिपिङमा १२ प्रतिशतले कमी आएको छ ।

समग्रमा, निर्यात र आयातमा ६ प्रतिशतले कमी आएको जापानको भन्सार विभागले जनाएको छ । अगष्ट महिनामा अमेरिकातर्फ जापानको निकासी ४ अर्ब ३७ करोड अमेरिकी डलर रहेको छ । जबकी निर्यातभन्दा आयात अझ घटेको छ । व्यापारिक तनाबबीच आयातभन्दा निर्यात नै बढी भएको भन्दै जापानको अर्थ मन्त्रालयले खुशी व्यक्त गरेको छ ।

जापानी व्यवसायको पछिल्लो सर्वेक्षणमा सन् २०११ को भूकम्प र सुनामीपछि जापानको अर्थतन्त्रमा यतिठूलो प्रभाव देखिएको यो पहिलोपटक भएको उल्लेख छ ।

गत महिना जापान र अमेरिकाबीच व्यापार सम्झौतामा सहमति भए पनि अन्तिम सम्झौता हुन बाँकी छ । विश्वका प्रमुख औद्योगिक राष्ट्रको समूह (जी–७) को बैठकका क्रममा दुबै मुलुकका नेताबीच फ्रान्समा वार्ता हुनुअघि नै यस्तो सहमति भएको समाचार सार्वजनिक भएको थियो ।

अमेरिकासँगको व्यापार वार्ताको जिम्मेवारी सम्हालेका जापानका अर्थमन्त्री तोशिमिचु मोटेगीले संक्षिप्त प्रतिक्रिया दिँदै वार्तामा ठूलो प्रगति भएको बताएका थिए । मन्त्री मोटेगीको जापानी प्रतिनिधिमण्डल र अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरबीच तीन दिन व्यापार वार्ता भएको थियो ।

Featured