देश

कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त १७ वर्षपछि पक्राउ

काठमाडौं, असोज १–कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त चितवन राप्ति नगरपालिका(७ बस्ने नुवाकोट ककनी गाउँपालिका(५ घर भएका ५८ वर्षीय भरत सुनारलाई घटनाको १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ । २०५९ पुस २१ गते नुवाकोट साबिक ककनी गाविस(७ सिम्ले हाल ककनी गाउँपालिका(५ बस्ने ७० वर्षीया पदमकुमारी गुरुङको सिम्लेस्थित मकैबारीमा शव फेला परेको थियो । अनुसन्धानको सिलसिलामा घटनामा संलग्न रही फरार रहेका सुनारको खोजी गर्ने क्रममा केन्द्रीय अनुसन्धान ब्युरो महाराजगन्जबाट खटिएको प्रहरीले उनलाई चितवन राप्ती नगरपालिका(७ भवानी बजारबाट मंगलबार पक्राउ गरेको हो ।

पुस २० गते राति छिमेकीको छोराको छेवरमा गएकी ती महिलालाई छेवर सकिएपछि नाचगानको कार्यक्रममा विवाद हुँदा घर फर्कने क्रममा निज सुनारले ढुंगा प्रहार गरी हत्या गरेको अनुसन्धानबाट खुल्न आएको उक्त ब्युरोले जनाएको छ । पक्राउ सुनारलाई थप आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय नुवाकोट पठाइएको छ ।

Featured