देश

स्वास्थ्य मन्त्री एक वर्षमा २५ पटक विदेश भ्रमणमा

काठमाडौं, असोज १–देशभर डेंगी फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनले भारतमा आयोजना गरेको दक्षिण एसियाली राष्ट्रका मन्त्रीहरुको बैठकमा भाग लिन गए । दुई साताअघि भारत गएका उनले ६ दिन उतै बिताए । अस्पतालहरूमा अहिले डेंगीसँगै स्क्रबटाइफस लगायतका बिरामीको चाप बढिरहेको छ । तर स्वास्थ्य मन्त्री यादव भने फेरि विदेश सयरमा जान लागेका छन् । त्यो पनि दुई साताका लागि ।

देश डेंगी र इक्रबटाइफस, जिका र चिकनगुनियाको उच्च जोखिममा परेका बेला त्यसलाई बेवास्ता गर्दै स्वास्थ्यमन्त्री यादव बुधबार १४ दिनका लागि अमेरिका भ्रमणमा जाने तय भएको छ । उनलाई देशमा फैलिएका विभिन्न रोगबाट नागरिकको स्वास्थ्य जोखिमका परेकाप्रति कुनै प्रवाह नरहेको र केवल विदेश सयरमा मात्र ध्यान रहेको मन्त्रालयका उच्च अधिकारीको गुनासो छ ।

मन्त्रालयका सहसचिवस्तरका कर्मचारी सहभागी भए हुने कार्यक्रममा पनि मन्त्री यादव आफैं जाने गरेको स्रोतको भनाइ छ । मन्त्री बनेयता पटकपटक विदेश गएकाले उनलाई ‘डुलुवामन्त्री’ भनेर पनि चिन्छन् मन्त्रालयका कर्मचारी । मन्त्रालय स्रोतका अनुसार एक वर्षको अवधिमा उनी २५ पटकभन्दा बढी विदेश भ्रमणमा गएका छन् । यो समाचार आजको नागरिक दैनिकले छापेको छ ।

Featured