देश

सुदूरपश्चिममा बुढी पोल्ने पर्व धुमधामका साथ मनाईदै

डडेल्धुरा, असोज १–सुदूरपश्चिममा बुढी पोल्ने अर्थात् ‘बन्ढुनी’ पर्व धुमधामका साथ मनाईदै छ । १ असोजका दिन राक्षस पुतनालाई भगवान श्रीकृष्णले मारेको उत्सवका रुपमा सुदूरपश्चिममा यो पर्व मनाईने गरिन्छ । भदौ संक्रान्तिमा सुरु हुने यो पर्व असोज संक्रान्तिमा सकिन्छ । भगवान कृष्णले पुतनामाथि विजय गरेको अर्थात आसुरी शक्तिमाथि दैवी शक्तिले विजय गरेको खुसीयालीमा पर्व मनाउने गरिन्छ ।

भदौ संक्रान्तिमा गाउँका मानिस नजिकैको वनबाट विभिन्न बुट्यानहरू (झिकणा) काटेर एक ठाउँमा थुप्रो (बन्ढुनी) पार्छन् । त्यो थुप्रोलाई असोज संक्रान्तिमा जलाइन्छ । पर्वको केन्द्रविन्दु असोज संक्रान्तिलाई मानिन्छ । किम्बदन्ती अनुसार कंशकी बहिनी पुतनाले कृष्ण भगवानलाई मार्न खोज्दा पुतना आफैं जलेर मरेकी थिइन् । द्वापर युगमा विषाक्त दूध सेवन गराई बालबालिकाको ज्यान लिने गरेकी पुतनालाई कृष्णले दूध चुसी मारेको र कृष्ण बाँचेको खुशीयालीमा असोज संक्रान्तिका दिन यो पर्व मनाइने गरिएको पण्डित भोजराज ओझाले बताए ।

त्यसपछि पुतनालाई कृष्ण र उनका साथीले जलाउँदै उत्सव मनाएका थिए । त्यही दिनको स्मरणमा यो पर्व मनाउन थालिएको हो । यस पर्वमा कुनै देवीदेवताको पूजाआजा गरिँदैन । यसलाई बालप्रधान पर्व पनि भन्न सकिन्छ । थुप्रो जलाउँदा बालबालिका ‘गाईबाच्छी पाल ! बूढी निकाल ! थुई बूढी थुई !’ भन्ने गर्छन् । किम्बदन्ती अनुसार यो पर्वलाई रामायणको कथासँग पनि जोडिएको छ । रावणले सीतालाई हरण गरेर लगिरहेको कागभुषुन्डी (जटायु) ले देखेछ । कागभुषुन्डीले सीतालाई रावणबाट बचाउन रावणलाई टोक्न गएछ । रावणले बाण हानेर कागभुषुन्डीलाई घाइते बनाइदिए । घाइते कागभुषुन्डी बाटोको छेउमा खसेर छटपटाइरहेको बेला सीताको खोजीमा राम र लक्ष्मणले देखेछन् । उनीहरूले सोधेछन्, ‘कसरी तिम्रो यस्तो दशा भयो ?’ कागभुषुन्डीले सीता हरणको वृत्तान्त बताउँदै प्राण त्याग गरेछ । त्यसपछि भगवान रामले कागभुषुन्डीको शरीर जलाई आत्माको चीरशान्तिको कामना गरेका थिए । सोही दिनको स्मरणमा यो पर्व मनाउन थालिएको हो ।

बन्ढुनी सुदूरपश्चिमका हरेक गाउँमा मनाइन्छ । सामाजिक र मौलिक पर्व हो । यसमा बाबियो घाँसबाट महिलाको चुल्ठीजस्तै (लुडी) बनाइन्छ । त्यसमा सुन्दरता थप्न खसर्याका पात र चिमालीका सेता राता र पहेँला फूल जोडेर अति आकर्षक बनाइन्छ । बूढी पोल्न सल्लाको रातो काठलाई राम्रोसँग मसिनो गरेर चिरेर (दियालो वा झरो) को मसाल (राँको) बनाएर सजाइन्छ ।

त्यस्तै साथमा बुढी पोल्दा पूजा गर्न भुरूली (काँगनबाट भुटेर बनाइएको अन्न) र काँक्रोको गोल टुक्राले पूजाआजा गर्ने चलन छ । अधिकांश गाउँमा पर्व मनाउने चलनमा समान छ । बालबालिकाहरू साँझको झिसमिसे अँध्यारोमा राँका बालेर एक हातले रंगीचंगी लुडी घुमाउँदै ‘गाईबाच्छी पाल, बूढी निकाल’ भन्दै वनतिर दौडिन्छन् । त्यस समय प्रत्येक गाउँ उज्यालोले झिलिमिली हुन्छन् । यस दिन सबैभन्दा पहिले पाक्ने अन्न भुरूली र काक्रोले पुजा गरिन्छ । बूढी पोलेर मिठामिठा परिकार खाने चलन छ ।

यो पर्व सुदूरपश्चिमको डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा र डोटी लगायत पहाडी जिल्लाहरुबाट बसाइ सरी कैलाली–कञ्चनपुर गएका समुदायसँगै भारतको उत्तराञ्चलका कुमाउ–गढवालमा समेत मनाउने चलन रहेको छ । यसैबीच पर्वकै अवसरमा बिगतका वर्षहरु जस्तै गरी यस बर्ष पनि अमरगढी–७ पोखरामा बन्ढुनि पर्वको अवसरमा ब्राईट भिजन क्लवले लोक संस्कृति झल्किने गरी साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । प्रत्येक वर्ष राति पोखरा बजारमा यस क्षेत्रका सबै नागरिक जम्मा भई देउडा खेल खेल्ने चलन रहिआएको छ ।

Featured