देश

मौसम खराबीले दुर्घटनामा बेपत्ताहरुको खोजी गर्न कठिनाइ

संखुवासभा, असोज १–संखुवासभाको धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भिरबाट जीपसहितखसेर बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको छ । सो क्षेत्रमा निरन्तर बर्षा भइरहेका कारण खोजी कार्यमा कठिनाइ भएको प्रहरीले जनाएको छ । केही दिनदेखिको अविरल बर्षाका कारण अरुण नदीमा समेत बाढी आएको छ । सदरमुकाम खाँदबारीबाट विरामी बोकेर धरानतर्फ जाँदै गरेको जीप गएराति धर्मदेवी नगरपालिका–८ अक्करको भिरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका थिए । दुर्घटनामा परी को १ ज ३७४९ नम्बरको बोलेरो जीपसहित ६ जना बेपत्ता भएका छन्।

बेपत्ता हुनेमा गाडी चालक खाँदबारी नगरपालिका–९ का सन्तोष विक, खाँदबारी–९ का संगम श्रेष्ठ, सदिक्षा श्रेष्ठ, २ महिनाका छोरा समिर श्रेष्ठ ,प्रमेश थापा मगर र खोटाङका खवरमान पिठ्ठाकोटे मगर रहेका छन् । गएराति साढे १० बजे अरुण नदीमा खसेर चालक विश्वकर्मासहित ६ जना बेपत्ता भएको संखुवासभाका प्रहरी प्रमुख डिएसपी मिम लामाले जानकारी दिए। खाँदबारीबाट दुई जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खसेको थियो । बिरामीको खाँदबारीमा उपचार हुन नसकेछि थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लैजाने क्रममा गाडी दुर्घटना भएको बताइएको छ।

Featured