देश

बिरामी बोकेको जीप अरुण नदीमा खस्दा ६ जना बेपत्ता

विराटनगर, असोज १-संखुवासभा सदरमुकाम खाँदबारीबाट बिरामी बोकेर धरानतर्फ आउँदै गरेको जीप अरुण नदीमा खस्दा एकै परिवारका ३ सहित ६ जना बेपत्ता भएका छन्।

को १ ज ३७४९ नम्बरको बोलेर जीप गएराति धर्मदेवी नगरपालिका–८ स्थित अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका हुन्। जीप संखुवासभा नगरपालिका–९ का संगम श्रेष्ठका ३ वर्षीय बिरामी छोरा लिएर आउँदै धरानतर्फ आउँदै थियो।

प्रदेश १ ट्राफिक प्रहरी कार्यालय, इटहरीका ट्राफिक प्रहरी निरीक्षक राजेश राईका अनुसार जीपमा सवार संगम राई, उनकी श्रीमती र ३ वर्षीय छोरा बेपत्ता भएका छन्। चालक सन्तोष विकसहित अन्य २ जना बेपत्ता भए पनि उनीहरूको भने परिचय खुल्न नसकेको राईले जानकारी दिए।

जीप अरुणमा खसेपछि खाँदबारीबाट तत्कालै पुगेको प्रहरी टोलीले खोजीकार्य गरिरहेको छ। तर उर्लिएको अरुणमा जीप पुरै डुबेकाले उद्धारमा समस्या भएको प्रहरी भनाइ छ।

Featured