देश राजनीति

संविधान दिवसमा राष्ट्रिय जनता पार्टीले मोरङमा पनि कालो दिनका रुपमा मनाउने

विराटनगर, भदौ ३१–राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल मोरङले असोज ३ गतेको संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने तयारी गरेको छ । संविधानमा मधेशी, मुस्लिम, दलित, पिछडा वर्ग, आदिवासी जनजाती लगायतका अधिकार नसमेटेको भन्दै विरोध जनाउँदै आएको राजपाले सो दिनलाई कालो दिनका रुपमा मनाउने भएको हो ।

केन्द्रीय सर्कुलर अनुसार संविधान दिवसलाई कालो दिनका रुपमा मनाउने तयारी गरिएको राजपा मोरङका अध्यक्ष मो. कादीरले जानकारी दिए । उनले सो दिन प्रदेश नं. १ को राजधानी विराटनगरमा दिउँसो विरोधसभा र कोणसभा गरिने बताए । कोणसभामालाई केन्द्रीय उपाध्यक्ष विश्वनाथ राजवंशी र महासचिव मनिष सुमनले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष कादीरले बताए ।

उनले सोही दिन साँझ ७ बजेदेखी सवा ७ बजे सम्म ‘ब्ल्याक आउट’ समेत गरिने बताए । असोज ३ गते सरकारले संविधान दिवस भब्य रुपमा मनाउने तयारी गरिरहेका बेला रारिष्ट्रय जनता पार्टीले भने सो दिनलाई कालो दिनका रुपमा मनाउने देशव्यापि तयारी गरेको छ । सो दिवसलाई कालो दिनका रुपमा मनाउन सो पार्टीले निर्णयनै गरेर विभिन्न जिल्लालाई सर्कुलर जारी गरेको छ ।

Featured