देश

सेयर बजारमा २७ अंकको वृद्धि, लगानीकर्तालाई राहत

काठमाडौं, भदौ ३१–सेयर बजार परिसूचक नेप्से मंगलबार २६ अंकले बढेको छ । बजारप्रति नकारात्मक धारणा रहेको आरोप खेप्दै आएका अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार ‘सेयर बजार घटेकाले किन्ने उपयुक्त समय भएको’ अभिव्यक्ति दिएपछि बजारमा उत्साह छाएको हो ।

कर्मचारी सञ्चयकोषको ५८औं वार्षिकोत्सवमा अर्थमन्त्रीले बैंकहरूको नाफा बढिरहेको, वित्तीय प्रणाली सबल भइरहेको, राजनीतिक स्थायित्व भएको र करको समस्या समाधान भएको भन्दै लगानीकर्ता र सार्वजनिक संस्थाहरूलाई लगानी गर्न आग्रह गरेका थिए ।

साताका दुई दिनमै करिब ३४ अंक घटेको बजार मंगलबार २६.९१ अंकले बढेर ११५०.७४ अंकमा उक्लिएको छ । म्युचुअल फन्डबाहेकका सबै समूह उकालो लागेका छन् । सबैभन्दा धेरै जलविद्युत र उत्पादनमूलक समूह बढेका छन् । बैंकिङ २.०४, ट्रेडिङ, ०.८१, होटल ३.१५, विकास बैंक १.७४, जलविद्युत ४.२७, वित्त १.५, निर्जीवन बिमा २.०७, उत्पादनमूलक ४.५२, अन्य ३.२५, लघुवित्त २.१ र जीवन बिमा २.०८ प्रतिशतले बढेका छन् ।

मंगलबार १७१ कम्पनीको ३८ करोड ३९ लाख रूपैयाँबराबरको सेयर किनबेच भएको छ । २५ प्रतिशत लाभांश घोषणा गरेको सिद्धार्थ बैंकको सबैभन्दा बढी साढे ३ करोडको सेयर कारोबार भयो । शिवम् सिमेन्ट, गुराँस लघुवित्त, राधी विद्युत कम्पनी र अपी पावरको सेयर मूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ ।

Featured