देश

लगाड जलविद्युत् आयोजनाको क्षमता वृद्धि

जाजरकोट, भदौ ३१–जिल्लाको पूर्वी क्षेत्रमा निर्माण हुन लागेको नलगाड जलविद्युत् आयोजनाको सात मेगावाट विद्युत् उत्पादन क्षमता बढ्ने भएको छ । आयोजनाको विस्तृत योजना प्रतिवेदन (डिपिआर) गर्दा यो तथ्य सार्वजनिक भएको हो । ४१० मेगावाटबाट बढेर ४१७ मेगावाट पुग्ने आयोजनाले जनाएको छ । आयोजनाको विद्युत् उत्पादन क्षमता बढेसँगै स्थानीयवासी खुसी भएका छन् । सुरुमा गरिएको अध्ययनले ४१० मेगावाट विद्युत् उत्पादन हुने सर्वेक्षण गरिएकामा अहिले डिपिआरको प्राराभिक प्रतिवेदनबाट सात मेगावाट विद्युत् उत्पादन क्षमता बढ्ने आयोजनाका इन्जिनियर पदम थापाले बताए ।

बारेकोट गाउँपालिकाको अँधेरीखोलामा निर्माण हुने बाँधको उचाइ सुरुमा २०० मिटर रहेकामा अहिले २१० मिटर बनाइएकाले विद्युत् उत्पादन क्षमता बढने उनको भनाइ थियो । सो विषयमा वातावरण प्रभाव मूल्यांकनको प्रतिवेदन तयार भई वन मन्त्रालयमा स्वीकृतिका लागि पठाइएको छ । त्यसैगरी आयोजनाको जग्गा अधिग्रहणको कामसमेत सुरु गरिएको छ । जलविद्युत् निर्माणस्थलका लागि अधिग्रहण गरिएको ४ हजार ४६२ रोपनी ९३ हजार ८६१ कित्ता जग्गाको मुआब्जा उपलब्ध गराउनका लागि सूचनासमेत प्रकाशन गरिएको छ ।

सरकारले सबै मुआब्जा दिने गरी २ अर्ब ७२ करोड रूपैयाँ उपलब्ध गराएको वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताए । मुआब्जा यसै वर्षमा वितरण गरिने उनको भनाइ थियो । चार वर्षअघिदेखि मुआब्जा वितरण सुरु गरिए पनि रकम अभावमा अहिलेसम्म बाँधस्थल अँधेरीखोलामा १५० रोपनी र विद्युतगृह निर्माणस्थलको २५० रोपनीको मात्र मुआब्जा वितरण गरिएको थियो ।

मन्त्री बस्नेतले भने, ‘आयोजना निर्माणका लागि विभिन्न देशसँग छलफल जारी छ र कर्णाली प्रदेशको मुहार फेर्ने यो आयोजना तोकिएकै समयमा निर्माण गर्न हामी निरन्तर लागि परेका छौँ ।’ मुआब्जा वितरण गरिएको ठाउँमा यसअघि प्रतिरोपनी ४ लाख ७५ हजारका दरले वितरण गरिएको थियो । अब तीन साप्ताभित्र जग्गाको मूल्यांकन तथा गुनासा सुनेर जिल्ला प्रशासन कार्यालयले सरोकारवालाको बैठक बोलाइ नयाँ दरभाउ तोकेर मापदण्ड बनाई मुआब्जा वितरण गरिने प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए ।

दक्षिण एसीयको नमुना बाँध बन्न लागेकोले पर्यटकीय हिसाबले समेत यो स्थान महत्वपूर्ण हुने उनले बताए । निर्धा्रित मिति सकिएको कम्पनीको विस्तृत योजना प्रतिवेदन (डिपिआर) को काम चार महिनाभित्र सकिने कम्पनीका इन्जिनियर पदम थापाले जानकारी दिए । ३२ महिनाभित्र निर्माण गरिने भनी सम्झौता गरिएकामा काम नसकिएकाले छ महिना थपिएको थियो । सामग्री ढुवानी, सुरक्षा व्यवस्था र विस्फोटक पदार्थ समयमै आपूर्ति नहुँदा निर्धा्रित समयमा काम पूरा गर्न नसकिएको उक्त कन्सलटेन्टले बताएको छ ।

बारेकोट गाउँपालिकाको अँधेरीखोलामा उक्त परियोजनाको बाँध निर्माण र नलगाड नगरपालिका(७ दल्लीमा भूमिगत विद्युतगृह निर्माण गरिने भएको छ । विद्युतगृह निर्माणका लागि ३४५ मिटर सुरुङ निर्माण गरी माटोको अवस्था पत्ता लगाउने काम सुरु गरिए पनि थपिएको मिति सकिँदासम्म २५० मिटर मात्र निर्माण गरिएको आयोजनाका इन्जिनियर थापाले बताए । (रासस)

Featured