देश

हतियारधारी समूहद्धारा वृद्ध दम्पती लुटिए

लमजुङ, भदौ ३०—मर्स्याङदी गाउँपालिका–३ टुनीखर्कका एक वृद्ध दम्पती हतियारधारी समूहद्धारा लुटिएको प्रहरीले जनाएको छ। लुटेरा समूहले उनीहरुका साथबाट ८ तोला सुन लुटेर लगेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीले बताएको छ। डीएसपी रविन्द्रमान गुरुङका अनुसार प्रहरीले घटनास्थलमा अनुसन्धान थालेको छ।

नकाव लगाएर आएको ३ जनाको समूहले हतियार प्रहार गर्दा ७८ वर्षीय आइतसिंह गुरुङको दायाँ औंला र टाउकोमा चोट लागेको छ। प्रहरीले उनको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेकोे बताएको छ। गुरुङका पत्नि भीमकुमारी भने सकुसल छिन्।

घाइते आइतसिंहका अनुसार गर्मीको कारण ढोकामा चुकुल लगाइएको थिएन। राति साढे १२ बजेतिर मुखमा नकाव लगाएर आएको टोलीले धारिलो हतियार प्रयोग गरी आफ्नो हातको २ तोलाको औंठी र पत्निको दुवै कानमा रहेको साढे १ तोलाको सिक्रिसहितको सुनका साथै घाँटीमा लगाएको ३ तोलाको सुन लुटेरा समूहले लुटेर लगेको थियो। वृद्ध दम्पतीका एक छोरा र एक छोरीमध्ये छोरी विवाह भएर बेंसीसहर बस्दै आएकी छिन् भने छोरा बेलायती सेनामा कार्यरत छन्।

Featured