देश मनोरंजन

‘नेपाल फिल्म क्याम्पस’ सञ्चालनमा

काठमाडौं, भदौ ३०–नेपालमा नयाँ फिल्म क्याम्पसको स्थापना भएको छ । फिल्ममा स्नातक तहसम्मको अध्ययनका लागि आइतबारबाट ‘नेपाल फिल्म क्याम्पस’ सञ्चालनमा आएको हो । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त चार वर्षे ‘ब्याचलर अफ फिल्म स्टडिज’मा नयाँ शैक्षिकसत्रबाट कक्षा सञ्चालन गरिने क्याम्पसका प्रधानाध्यापक शिशिर उप्रेतीले बताए ।

उप्रेतीका अनुसार क्याम्पसले फिल्म अध्ययनका लागि कक्षा सञ्चालन सुरु गरेको छ । नेपाली मात्र नभएर दक्षिण भारतीय तथा अन्य देशका विधार्थीहरुलाई समेत लक्षित कक्षाहरु सञ्चालन गर्ने क्याम्पसको लक्ष्य रहेको पनि उप्रेतीले जानकारी दिए । ‘यसअघि त्रिविबाट सम्बन्धनप्राप्त एउटामात्र फिल्म पढाउने कलेज थियो । धेरैलाई फिल्म अध्ययन गर्नको लागि भारत वा अन्य देश गएर ठूलो खर्चमा अध्ययन गर्नुपर्ने वाध्यता थियो । यो वाध्यता न्यूनीकरण गर्ने मुल उद्देश्यले क्याम्पस स्थापना गरेका हाँै’, उप्रेतीले भने ।

क्याम्पसले स्नातक अध्ययन पुरा गर्न चार लाख ४८ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ । यो वर्ष १० जना विद्यार्थीलाई २० प्रतिशत छात्रवृत्तिको पनि व्यवस्था गरिएको छ । त्यस्तै, नेपाल सरकारले दिने छात्रवृत्रि पनि विद्यार्थीहरुलाई प्रदान गरिने छ । क्याम्पसलाई दक्ष जनशक्ति उत्पादन गरेर बजारमा प्रमाणित गर्नुपर्ने चुनौती छ । ‘विद्यार्थीलाई पाठ्यक्रमभन्दा पनि प्राविधिक अभ्यासमा बढी जोड दिनेछौै’, उनले भने । ‘हाम्रो ओस्कर इन्टरनेसनल कलेजसँग प्रतिस्पर्धा गर्ने नियत होइन । नेपालमा एउटा मात्रै थियो दुईवटा भयो । एक आपसमा सहकार्य गरेर नै अगाडि बढ्छौ’, उनले थपे ।

‘ओस्कर एउटामात्रै फिल्म पढाइने कलेज हुँदा विद्यार्थीलाई फिल्म पढ्नको लागि विकल्प थिएन । नेपाल फिल्म क्यम्पस सुरु भएपछि विद्यार्थीलाई नयाँ ‘अप्सन’ र छनोटको अवसर प्राप्त भएको छ’, उप्रेतीले थपे । उप्रेतीका अनुसार काठमाडौंको मध्य वानेश्वारमा रहेको क्याम्पसमा हलिउड, वलिउडसहित श्रीलंका, भुटान र नेपालका फिल्म विज्ञहरुले पाँच विषयमा पढाउने छन् ।

थोरै लगानीमा स्वदेशमै उत्कृष्ट फिल्म शिक्षा दिइने उप्रेतीको दाबी छ । नियमित र भिजिटर गरेर ६० जनाभन्दा बढीको टिम रहेको पनि उप्रेतीले बताए । यो क्याम्पस नेपाली फिल्म उद्योगका लागि दक्ष जनशक्ति उत्पादन गर्न सफल हुने उनले विश्वास व्यक्त गरे ।

Featured