देश

उत्तर कोरियाली लगानी नेपालमा प्रतिबन्ध

काठमाडौं, भदौ ३०–नेपालले उत्तर कोरियाको लगानीमाथि प्रतिबन्ध लगाएको छ । संयुक्त राष्ट्र संघ (यूएन)को पत्रअनुसार उत्तर कोरियाको लगानीमाथि प्रतिबन्ध लगाइएको परराष्ट्र मन्त्रालयले जनाएको छ । लगानी फिर्ता लैजान नेपालीस्थित कोरियाली राजदूतावासमा पटक(पटक मौखिक जानकारी गराउँदा पनि नभएपछि पत्र काटिएको बताइएको छ ।

संयुक्त राष्ट्रसंघको प्रतिबन्धका कारण नेपालबाट उत्तर कोरियाली लगानी फिर्ता पठाउन थालिएको उद्योग विभागले जानकारी दिएको छ । सरकारले उत्तर कोरियाको लगानीमा सञ्चालित व्यवसायलाई एक महिनाभित्र बन्द गरेर लगानी फिर्ता लैजान अल्टिमेटम दिएको छ ।

अहिले पनि व्यावसायिक प्रयोजनका लागि उत्तर कोरियाली भिसा थप हुन छाडिसकेको छ । भ्रमण भिसामा भने उत्तर कोरियाली नागरिक नेपाल आउन पाउनेछन् । उत्तर कोरियाले आणविक हातहतियार र क्षेप्यास्त्र प्रक्षेपण गर्न थालेपछि संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्ले सदस्य राष्ट्रहरुलाई उत्तर कोरियासँग आर्थिक कारोबार नगर्न र काममा लगाउन आग्रह गरेको थियो ।

उद्योग विभागका अनुसार उत्तर कोरियाली नागरिकले नेपालमा अस्पताल, रेस्टुराँ र सफ्टवेयर निर्माण क्षेत्रमा लगानी गरेका छन् । तनहुँको दमौलीमा नेकोर्यो अस्पतालमा ८० प्रतिशत सेयर उत्तर कोरियाली नागरिकको छ । त्यस्तै हिमालयन सोजी रेस्टुरेन्ट, होटल रिमिन एन्ड रेस्टुरेन्ट, योङबोङ चाण्ड आइटी कम्पनी, बोटोङगाङग रेस्टुरेन्ट एन्ड बार, प्योङयाङ अकुग्यान नेपाल, मिनस रेस्टुरेन्ट एन्ड बार, हिमाल चिल्बो टेक्निकल सोलुसन र प्योङयाङ अकुग्यान रेस्टुरेन्टमा उत्तर कोरियाली लगानी छ ।

Featured