देश

कर्णली प्रदेशका बाटो नपुगेका क्षेत्रमा खाद्यान्न ३० प्रतिशतसम्म महँगो

काठमाडौं, भदौ ३०–देशकै विकट मानिने कर्णाली अञ्चलमा बाटो नपुगेका क्षेत्रहरूमा खाद्यान्न ३० प्रतिशतसम्म महँगो रहेको नेपाल खाद्य सुरक्षा अनुगमन प्रणालीको अध्ययनले देखाएको छ । विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) र सञ्जालबाट हालै कर्णाली र सुदूरपश्चिममा खाद्य सुरक्षाबारे हालै गरिएको अध्ययनअनुसार बाटोले छोएका र बजार क्षेत्रबाहिरका उच्च पहाडी क्षेत्रहरूमा औसतमा खाद्यान्न ५ देखि ३० प्रतिशतसम्म महँगो पर्छ ।

कणाली अञ्चलका बाटो पुगेका ठाउँमा मोटा चामलको प्रतिकिलो ४७ रुपैयाँ, सुदूरपश्चिमका यस्तै स्थानमा प्रतिकिलो ४६ रुपैयाँ रहँदा अलिकता उच्च पहाडी क्षेत्रमा त्यही चामल ६९ रुपैयाँ प्रतिकिलोसम्म रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ । यस्तै, गहुँको पिठो बाटो पुगेका ठाउँमा ५२ देखि ५५ रुपैयाँ हुँदा उच्च पहाडी क्षेत्रमा किलोको ७७ रुपैयाँ पर्ने, दाल बजार क्षेत्रमा १२३ रुपैयाँ पर्दा माथिल्लो भेगमा १६१ रुपैयाँ पर्ने, भटमासको तेल तल्लो भेगमा १२३ रुपैयाँ लिटरकोपर्दा माथिल्लो भेगमा १६१ रुपैयाँ परिरहेको सञ्जालको प्रतिवेदनमा जनाइएको छ ।

कुखुराको मासु भने किलोमा झन्डै २०० रुपैयाँकै फरक पर्ने गरेको पाइएको छ । बजार क्षेत्रमा प्रतिकिलो ३६५ रुपैयाँमा पाइने कुखुराको मासु माथिल्लो भेगमा ५३५ रुपैयाँसम्म पर्ने गरेको छ । सरकारले डब्लूएफपीसहितका दाताहरूको सहयोगमा ढुवानीमा अनुदान दिएर कर्णालीमा खाद्यान्न आपूर्ति गर्दै आएको छ । नेपाल खाद्य संस्थानका अनुसार गाडीबाट ढुवानी गर्दा चामलको ढुवानी खर्च प्रतिकिलो ४२ रुपैयाँ पर्छ भने हवाई जहाजबाट ढुवानी गर्दा निजी वायुसेवा कम्पनीहरूले प्रतिकिलो १०५ देखि ११५ रुपैयाँसम्म लिने गर्छन् ।

कर्णालीका सात जिल्लामा वर्षका आधा समय खाद्यान्न संकट पर्ने गर्छ । स्थानीय उत्पादनले नपुग्ने भएपछि ट्याक्टरसहितका सवारीसाधन, खच्चर तथा हवाई जहाजबाट अनुदानको चामल झिकाएर खाने गरिएको छ । सर्वेक्षणअनुसार बजार क्षेत्रका ५५ प्रतिशत व्यापारीले तत्कालका लागि पुग्ने खाद्यान्न रहेको बताए पनि अधिकांशले उच्च पहाडी क्षेत्रमा कात्तिकपछि झन्डै ७५ प्रतिशतजति खाद्यान्न अपुग हुने अवस्थामा भएको बताएका छन् ।

Featured