देश

योजना सम्पन्न भइसक्दा पनि रकम निकासा नभएपछि समिति गठन

जनकपुर, भदौ ३०–गत आर्थिक वर्षमा योजना सम्पन्न भइसक्दा पनि रकम निकासा नभएपछि अध्ययन गर्न प्रदेश २ को प्रदेशसभाले समिति गठन गरेको छ । सभामुख सरोजकुमार यादव सभापति र उपसभामुख उपमा देव उपसभापति रहने गरी समिति गठन गरिएको हो । समितिमा सांसदहरू नागेन्द्र राय यादव, सन्चमाया मोक्तान, उपेन्द्र महतो, शिवचन्द्र चौधरी, मुख्यमन्त्री कार्यालयका सचिव शंकर सुवेदी, भौतिक पूर्वाधार विकास र आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सदस्य छन् ।

समितिले गतआवमा सम्पन्न योजनाको भुक्तानी हुन बाँकी रहेको कामसँग सम्बन्धित कागजात अध्ययन गर्ने जनाएको छ । साथै, उक्त समितिले भुक्तानी नहुनुमा कसैको बदनियत वा गैरजिम्मेवार रहेकालाई कारबाहीको सिफारिश गर्नेछ । यस्तै, सम्पन्न योजनाको कार्यको परिमाण यकिन गर्ने जनाएको छ । समितिलाई १५ दिनको म्याद दिएको छ । समितिले योजनाको आवश्यकताअनुसार स्थलगत निरीक्षण, अनुगमन तथा अन्तरक्रियासमेत गर्ने बताइएको छ ।

योजना सम्पन्न भइसक्दा पनि रकम निकासा नभएको भन्दै सत्तारुढ राजपा र प्रतिपक्षी कांग्रेस तथा नेकपाका सांसदले सदन नै अवरुद्ध गरेका थिए । उनीहरूले रकम निकासाको जवाफ सरकारसँग मागेका थिए । राजपा सांसद विदेश्वर यादव (विक्की)का अनुसार करिब १ अर्बभन्दा बढीको योजना सम्पन्न भइसक्दा पनि रकम निकासा भएको छैन । यता स्रोतका अनुसार केही करोड रुपैयाँका फर्जी बिल बनाएर केही सांसदले पैसा उठाउन दबाब दिइरहेका छन् ।

Featured