विदेश

मान्छेकै टाउकोमा सिङ पलाएपछि…

एजेन्सी, भदौ ३०–मान्छेको टाउकोमा सिङ उम्रिएको बालकहानी सुन्नुभएको होला, तर मानिसको टाउकोमा सिङ भने अहिलेसम्म किस्सामात्रै लाग्दै आएको छ । तर यस्तो किस्सा अब वास्तविक जीवनमा समेत देखिएको छ । भारतको मध्यप्रदेशको सागर जिल्लाको रहली गाउँका ७४ वर्षीय श्यामलाल यादवको टाउकोमा भने सिङ उम्रिएको थियो ।

जसलाई हालै शल्यक्रियाद्वारा काटेर फालिएको छ । उनका अनुसार केही वर्षअघि उनको टाउकोमा लागेको चोटपछि सिङ उम्रिन थालेको हो । श्यामलाल यादवलाई सुरुमा सिङ पलाउँदा धेरै नै असहज भयो । तर विस्तारै आदत बस्न थाल्यो । श्यामलालले पटक पटक सिङ कटाए । तर केही दिनपछि फेरि सिङ पलाउँथ्यो । त्यसबाट हैरान भएर उनी डाक्टरलाई देखाउन गए । केहीले यसबारेमा उपचार गर्न मानेनन् भने केहीले महंगो हुने बताए ।

अन्तिममा उनी भाग्योदय तीर्थ अस्पतालमा गए जहा उनको टाउकोकमा पलाएको सिङ काटेर अलग गरिएको छ । उनको उपचारमा संलग्न चिकित्सक विशाल गजभियेले श्यामलाल दुर्लभ ‘सेबासियस हर्न’ नामको विरामी भएको बताए । बोलिचालीको भाषामा यसलाई डेभिल्स हर्न भनिन्छ । डाक्टर गजभियेका अनुसार उनले पहिले श्यामलालको टाउकोको एक्सरे र सीटी स्क्यान गराए, जसबाट सिङ कति गहिरोसम्म छ भन्ने पत्ता लगाए ।

एक्सरेबाट धेरै गहिरो नभएको पाइएपछि अपरेशन गरेर फालिएको हो । यो अपरेशनमा केही घन्टा लाग्यो तर श्यामलालले सिङबाट छुटकारा पाए । शल्यक्रियामा संलग्न डाक्टर विशाल गजभियेले छिट्टै यो घटनालाई इन्टरनेशनल जर्नल अफ सर्जरीमा प्रकाशित गर्नका लागि पठाइने जानकारी दिएका छन् ।

Featured