देश

मोबाइल पसलमा लुटपाट मच्चाउने तीन पक्राउ

काठमाडौं, भदौ ३०-सिरहा प्रहरीले गोलबजार नगरपालिका-४ स्थित राजु इन्टरप्राइजेजबाट मोबाइल चोरी तथा लुटपाट मच्चाउने गिरोहलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सिरहा अर्नामा गाउँपालिका-३ लालपुरका १७ वर्षीय रामेश्वर साफी, सोही वडाका ३६ वर्षीय बिन्दुकुमार महतो र ३२ वर्षीय अरुणकुमार महतो छन्।

भदौ २२ गते सो मोबाइल पसलको सटरमाथि रहेको भेन्टिलेसन फुटाएर २ लाख १५ हजार नगद, ३ लाख ५० हजार रुपैयाँ बराबरको रिचार्ज कार्ड, विभिन्न कम्पनीका ८ लाख ९६ हजार ८ सय रुपैयाँ मूल्य बराबरका ४४ थान मोबाइल चोरी भएको थियो।

चोरीमा संलग्नको खोजीमा रहेको प्रहरीले ६ दिनमै तीन जनासहित चोरिएका मोबाइल बरामद गरेको सिरहा प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले बताए। चोरीमा संलग्न रहेका मुख्य आरोपी रामेश्वर साफीको लालपुरस्थित घरबाट विभिन्न कम्पनीका २४ थान मोबाइल, १ लाख ३५ हजार ५ सय नगद र चोरीमा प्रयोग गरिएका औजार बरामद भएका छन्।

यस्तै, पक्राउ परेका विन्दुकुमार महको साथबाट विष्णुपुर गाउँपालिका १ मा सञ्चालन गरेको मोबाइल पसलबाट चार थान मोबाइल र ६५ हजार ८ सय ६५ रुपैयाँ बराबरको रिचार्ज कार्ड तथा १४ हजार १ सय ५० रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका अर्का अरुण कुमार महतोले सञ्चालन गरेको मोबाइल पसलबाट ३ हजार बराबरको रिचार्ज कार्ड बरामद गरिएको एसपी चतुर्वेदीले बताए।

पक्राउ तीनै जना माथि चोरी तथा डकैती मुद्दामा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ।

Featured