खेलकुद विदेश

एसेज सिरिज बराबरीमा सकियो

काठमाडौं, एजेन्सी, भदौ ३०-एसेज सिरिजअन्तर्गत पाँचौ तथा अन्तिम टेस्टमा घरेलु टोली इङ्ल्यान्डले अष्ट्रेलियालाई एक सय ३५ रनले हराएको छ। यससँगै सिरिज २–२ को बराबरीमा सकिएको छ। आइतबार रातिको खेल बराबरीमा सकिएपछि अष्ट्रेलियाले एसेज ट्रफीको रक्षा गर्न सफल भयो।

इङ्ल्यान्डले दिएको तीन सय ९९ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलिया ७७ ओभरमा दुई सय ६३ रनमा अल आउट भएको थियो। अष्ट्रेलियाका लागि म्याथ्यु वेडले एक सय १७ रनको शतकीय इनिङ्स खेलेपनि हार टार्न सकेनन्। मिचेल मार्शले २४, स्टिभ स्मिथले २३ र टिम पेनले २१ रन बनाएका थिए। इङ्ल्यान्डका ज्याक लेच र स्टुअर्ट ब्रोर्डले चार चार विकेट लिए। कप्तान जोय रुटले दुई विकेट लिए।

यसअघि दोस्रो इनिङ्समा इङ्ल्यान्डले तीन सय २९ रन बनाएको थियो। इङ्ल्यान्डका जो डेनलीले सर्वाधिक ९४ रन बनाए। बेन स्टोक्सले ६७ रनको योगदान दिए। जस बटलर ४७ र जाये रुटले २१ रन बनाएका थिए। अष्ट्रेलियाका नाथन लायनले चार विकेट लिए। प्याट कमिन्स, पिटर सिडेल र मिचेल मार्शले दुई दुई विकेट लिए।

त्यसअघि अष्ट्रेलिया पहिलो इनिङ्समा दुई सय २५ रनमा समेटिएको थियो। स्टिभ स्मिथले सर्वाधिक ८० रन बनाएका थिए। मार्नुस लाबुसेन ४८ रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेका थिएनन्। इङ्ल्यान्डका जोफ्रा आर्चरले ६ विकेट लिएका थिए। साम करनले तीन र क्रिस वोक्सले एक विकेट लिएका थिए।

पहिलो इनिङ्समा इङ्ल्यान्ड दुई सय ९४ रनमा अल आउट भएको थियो । इङ्ल्यान्डका लागि जस बटलरले ७० रन बनाएका थिए। कप्तान जोय रुटले ५७, रोय बर्नसले ४७ र ज्याक लेचले २१ रन जोडेका थिए । अष्ट्रेलियाका मिचेल मार्शले पाँच, प्याट कमिन्सले तीन र जोसन हेजलवुडले दुई विकेट लिएका थिए। प्रतियोगितामा स्टिभ स्मिथ र बेन स्टोक्स संयुक्त रुपमा म्यान अफ द सिरिज घोषित भए।

Featured